२०८१ असोज १८ गते शुक्रवार

छिल्लीकोटको विकासमा पर्यटन बोर्डको चासो : चालुवर्षमा ३५ लाख  बजेट बिनियोजन


दाङ, २४ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको धार्मिक एवं पर्यटकिय ऐतिहासिक स्थल छिल्लिकोटको संरक्षण तथा प्रबर्द्धन गर्न नेपाल पर्यटन बोर्डले चासो देखाएको छ ।

पर्यटकीय गतिविधिका लागि न्युनतम भौतिक पुर्वाधारको बिकास गर्न स्थानीय सरोकारवालाको समेत सहभागीतामा छिल्लिकोटको विकास गरिने भएको छ ।

छिल्लिकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रबर्द्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख रूपैया विनियोजन भएको तुलसीपुर उपमहानगरपालिका वडा नंं. १९ का अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।

यस्तै छिल्लिकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिढी निर्माण गरीने भएको छ । यस्तै सिढी निर्माणका लागि पाँच लाख रूपैया विनियोजन भएको अध्यक्ष योगीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका अन्य वडाहरूको तुलनामा १९ नं वडाको विकट क्षेत्र रहेपनि सबैक्षेत्रको सहयोगले दाङकै पर्यटकीय क्षेत्रको चिनारी बनाउने गरि काम भैरहेको अध्यक्ष योगीले बताउनुभयो ।

छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यवस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् । छिल्लिकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस