![](https://ekapinews.com/wp-content/uploads/2023/12/suntala.jpg)
सल्यान, १ पुस । प्रकाश डाँगीको बारीमा सुन्तला बिक्रीका लागि तयार हुँदैन् । केही सुन्तला बिक्री गर्न तयार भएपनि अधिकांश सुन्तला हरिया छन् । पुसको मध्यतिरबाट सुन्तला बिक्री गर्ने उनको तयारी छ । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ९ का डाँगीको बारीमा अहिले आठसय बढी सुन्तलाका बोट छन् ।
उनले गतवर्ष २ सय ५० क्विन्टल सुन्तला बिक्री गरेका थिए । सुन्तला बिक्रीबाट गतवर्षमात्रै उनले १५ लाख बढी आम्दानी गरेका थिए । तर गतवर्षको तुलनामा यसवर्ष कम सुन्तला उत्पादन हुने अनुमान गरिएको उनले बताए । ‘सुन्तला बिक्रीबाट आम्दानी राम्रै छ । तर यसवर्ष गतवर्षको तुलनामा केही उत्पादन घट्ने अनुमान गरेको छु’ उनले भने– ‘यसवर्ष करिब दुई सय क्विन्टल सुन्तला बिक्री हुने अनुमान छ ।’
सुन्तला बोटबाटै प्रतिकेजी सरदर ७० रूपैयाँमा बिक्री गरिरहेकोमा यसवर्ष पनि भाउ उस्तै रहेको उनले बताए । ‘सरदर ७० रूपैयाँमा प्रतिकेजी बिक्री गर्ने अनुमान छ’ उनले भने– ‘अहिलेसम्म सुन्तलाबाट रामै्र आम्दानी भएको छ ।’ उनको बारीमा बुबाकै पालादेखि सुन्तलाका बोट थिए । पछिल्लो समय व्यावसायिकता दिनका लागि थप बोटहरू रोपेको उनले बताए । ‘एउटा बोटले राम्रो फल दिन करिब १० वर्ष लाग्छ’ उनले भने– ‘मैले रोपेको बोटले फल दिन थालिसकेको छ ।’
![](https://ekapinews.com/wp-content/uploads/2023/12/suntala-2-1024x461.jpg)
सुन्तला खेती शुरूमा केही मिहिनेत गर्नुपर्ने भएपनि सुन्तलाको बोट हुर्किसकेपछि थोरै मिहिनेतले पनि राम्रै आम्दानी गर्न सकिने उनले बताए । ‘सुन्तला खेतीबाट राम्रै आम्दानी हुन थालेपछि रोजगारीका लागि बाहिर जानुपरेको छैन्’ उनले भने– ‘सुन्तलाकै आम्दानीबाट घर खर्चदेखि छोराछोरीको पढाइ खर्चको जोहो भएको छ ।’
बागचौर नगरपालिका वडा नम्बर ३ खालिका भिमप्रकाश भण्डारीका बारीमा पनि एक हजार बढी सुन्तलाका बोट छन् । उनले पनि हरेक वर्ष सुन्तलाबाट २० लाख बढी आम्दानी गर्ने गरेका छन् । उनले गतवर्ष २ सय ५० क्विन्टल सुन्तला बिक्री गरेर २० लाख आम्दानी गरेकोमा यसवर्ष २५ लाख बढी आम्दानी हुने अनुमान गरेका छन् । सुन्तला खेतीबाट राम्रै आम्दानी हुन थालेपछि रोजगारीका लागि भौतारिनु परेको छैन् ।
‘सुन्तला खेती शुरू गरेदेखि मकै खेतीलगायत अरू खेती गरेका छैनौँ’ उनले भने– ‘सुन्तलाबाट हरेक वर्ष मनग्य आम्दानी हुने गरेपछि सुन्तला बिक्रीबाटै आएको आम्दानीले खानपानदेखि छोराछोरीको शिक्षा दिन सजिलो भएको छ ।’ सल्यानका सुन्तला कृषकले सुन्तला बिक्रीबाट हरेक वर्ष लाखौँको आम्दानी गर्ने गरेका छन् ।
सल्यानमा सुन्तलाबाट हरेक वर्ष करोडौँ रकम भित्रिने गरेको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार अहिले जिल्लामा ७५० जना किसानले सुन्तला खेती गर्दै आएका छन् भने हरेक किसानको बारीमा कम्तिमा पनि एक सय बढी सुन्तलाका बोटहरू छन् ।
गत आर्थिक वर्ष ०७९/०८० मा मात्रै ८ हजार ३ सय २२ क्विन्टल सुन्तला बिक्रीबाट सल्यानमा ३३ करोड ७० लाख २७ हजार ५ सयको सुन्तला बिक्री भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी जीएमले बताए । ‘सल्यानमा पछिल्लो समय सुन्तला बिक्रीबाट करोडौँ भित्रिन थालेको छ’ उनले भने– ‘सुन्तलाले बजार भाउ राम्रै पाउन थालेपछि किसानहरू पनि सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।’
उनका अनुसार सल्यानको बागचौर नगरपालिका वडा नम्बर ८ र ९ अर्थात् साविक कोटमौलामा मात्रै ३५० कृषक सुन्तला खेतीमा निर्भर रहेका छन् । कोटमौलामा मात्रै करिब ६० हजार सुन्तलाका बोटहरू रहेको सूचना अधिकारी जीएमले बताए । अहिले सल्यानमा १ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेपनि उत्पादनशील क्षेत्रफल ९८२ हेक्टर क्षेत्रफल रहेको जीएमले बताए ।
सुन्तला खेती समुद्री सतहदेखि १२ देखि १३ सय उचाईमा हुने गरेपछि पछिल्लो समय सोहि उचाईमा सुन्तला कम फल्ने गरेको उनले बताए । अहिले सुन्तला १ हजार ६ सयदेखि माथि १ हजार ८ सयको उचाईमा बढी फल्ने गरेको देखिएको छ । खेती हुने स्थानको उचाई बढी आवश्यक पर्ने हुँदा किसानलाई चुनौती रहेको उनले बताए ।
‘उचाई बढ्दै जाँदा तलतिरको किसान विस्थापित हुने देखिएको छ’ उनले भने– ‘माथिल्लोतिर किसान बढ्ने, तल्लो भेगतिरका किसान विस्थापित हुने अवस्था नआउला भन्न सकिन्न् ।’ सल्यानका सुन्तलाको बजार राम्रै हुन थालेपछि अहिले अधिकांश व्यापारी सुन्तला बारीमै सुन्तला खरिद गर्न पुग्न थालेका छन् । सडक बाटो बारीसम्म पुगेपछि व्यवसायी पनि बारीमै गाडी लगेर सुन्तला खरिद गर्न पुग्ने गरेका छन् । सल्यानका सुन्तला सल्यान सहित दाङ, नेपालगञ्ज, बुटवल लगायतका ठाउँमा जाने गरेको छ ।