२०८१ कार्तिक २२ गते बिहिवार

तुलसीपुरका अधिकांश नीजि अस्पतालमा योग्यता नपुगेका डाक्टरबाट भिडियो एक्सरे

तुलसीपुर, १८ मंसिर । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का बिशाल पुन पेटमा स्वास्थ्य समस्या देखिएपछि गत मंसिर ५ गते तुलसीपुरको एक मेडिकलमा आए ।

पेटमा बढी समस्या देखिएपछि उनले भिडियो एक्सरे गरे । भिडियो एक्सरेको रिपोर्टमा उनलाई एपेडिसको समस्या देखियो । डाक्टरले उनलाई तत्काल अप्रेसन गर्न सुझाव दिए ।

पेटको दुखाई धेरै थिएन, तर उनलाई छिटो अप्रेसन नभए जे पनि हुन सक्ने डाक्टरले सुझाए । उनले आर्थिक अभावका कारण तत्काल अप्रेसन गर्न सक्ने अवस्था भएन ।

त्यसपछि भोलिपल्पट उनी फेरि तुलसीपुरकै अर्को अस्पतालमा जाँच गराउन गए । अर्को अस्पतालमा भने अघिल्लो रिपोर्टजस्तो आएन् ।

उनलाई डाक्टरले सामान्य समस्या देखिएको भन्दै नआत्तिन सुझाव दिए । अनि सामान्य औषधि सेवन गरेपछि उनको स्वास्थ्य अवस्था अहिले ठिक छ ।

‘अस्पताल पनि सबै विश्वासिला रहेनछन्, उनले भने-‘मैले झण्डै अप्रेसन गरेको थिएँ, यदि दोस्रो दिन अर्को अस्पतालमा जाँच नगरेको भए त , पैसा पनि जाने, ज्यानलाई दुख हुने रहेछ ।’ पछि उनलाई थाहा भयो कि ति अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै अयोग्य रहेछन् । अर्थात रेडियोलोजिष्टले गर्नुपर्ने भिडियो एक्सरे अरुले नै गरेका कारण उनको रिर्पोट गलत देखिएको रहेछ ।

रोल्पाका जीत बहादुर घर्ती केहि दिन श्रीमतिको उपचारका लागि तुलसीपुर आए । तुलसीपुरमा गर्भवती श्रीमतीको भिडियो एक्सरे गरेका उनलाई डाक्टरले ठुलो समस्या रहेको भन्दै नेपालगञ्ज रिफर गरे ।

तर नेपालगञ्जमा सामान्य अवस्थामै उनको श्रीमती प्रसुती भइन् । ‘तुलसीपुरको एउटा अस्पतालमा भिडियो एक्सरे गरेको थिएँ, डाक्टरले जटिल अवस्था भनेपछि नेपालगञ्ज लगेँ ।’ उनले भने-‘नेपालगञ्जमा श्रीमतीले सामान्य अवस्थामै बच्चाईलाई जन्म दिइन् ।’

तुलसीपुरमा रेडियोलोजिष्ट डाक्टर भन्दा फरक भिडियो एक्सरे गर्ने गरेका कारण आफुजस्तै धेरै नागरिकले सास्ती पाएको उनले बताए । ‘मैले सास्ती पाएँ, अरुले पनि कति सास्ती पाएका होलान् ।’ उनले भने-‘स्वास्थ्यमाथि गम्भिर खेलवाड हुने गरेको छ ।’

तुलसीपुरमा पाँच जनामात्रै रेडियोलोजिष्ट डाक्टर रहेका छन् । डा. बसन्त रेग्मी, डा . सरोज पौडेल, डा.पुष्प राज रिजाल, डा.पवन कुमार लम्साल र डा.रामेश्वर देबकोटा कार्यरत रहेका अस्पतालबाहेकका अस्पतालमा अनधकिृतरुपमा भिडियो एक्सरे हुने गरेको एक रेडियोलोजिष्टले बताए ।

‘तुलसीपुरमा पाँच जनामात्रै रेडियोलोजिष्ट छन् ।’ उनले भने-‘ति पाँच जना कार्यरत रहेको स्वास्थ्यसंस्थाबाहेक अरुमा गैह्रकानुनीरुपमा बिरामीको भिडियो एक्सरे गर्ने गरिएको छ ।’

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० को दफा २३ को उपदफा २ (ग) को १ र २ मा नेपाल मेडिकल काउन्सीलमा दर्ता रहेका आधिकारिक रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे गर्ने प्रावधान छ ।

तर तुलसीपुरमा केहि बाहेक अधिकांश स्वास्थ्य संस्थामा अनधिकृत गैह्रकानुनी व्यक्तिबाट भिडियो एक्सरे गर्ने, उनीहरुले हस्ताक्षर गरेको रिपोर्टको आधारमा उपचार गर्ने गरिएको छ । तुलसीपुरमा दर्जन बढी स्वास्थ्य संस्था छन् ।

यसैबिच तुलसीपुरका अधिकांश स्वास्थ्य संस्थामा गैह्रकानुनी रुपमा भिडियो एक्सरे गर्ने गरिएको हुँदा नेपाल रेडियोलोजिष्ट एशोशियसन (एनआरए) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत बुधबार जारी गरेको विज्ञप्तीमा स्वास्थ्य संस्थामा नेपाल सरकारबाट इजाजत नलगी आफै पद धारण गरेको सोनोलोजिष्ट अर्थात अनधिकृत चिकित्सकबाट भिडियो एक्सरे गरी उपचार गराउने गरिएकोले एनआरएले त्यसप्रति ध्यानाकर्षण जनाएको हो ।

एनआरएले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गम्भिर बन्न सम्बन्धित स्वास्थ्य संस्था तथा त्यस कार्यमा संलग्न चिकित्सकलाई आग्रह गरेको छ । कसैले पनि कानुनको दुरुपयोग गरी अनधिकृत गैरकानुनी रुपमा भिडियो एक्सरे गराउने कार्य गरेमा नेपालको प्रचलित कानुन बमोजिम कार्बाही हुने एनआरएले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तर तुलसीपुर क्षेत्रमा केहि स्वास्थ्य संस्थामा रेडियोलोजिष्ट बिनै भिडियो एक्सरे गर्ने गरिएकोले पनि सम्बधित बिरामीलाई सचेत हुन एनआरएले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस