दाङ, १६ कार्तिक । दाङमा चाडपर्व लक्षित सुपथ मूल्यको पसलमा अपेक्षा अनुसारको चामल र नुन बिक्रि हुन सकेको छैन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मूख्य शाखा कार्यालय तुलसीपुर र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खोलेका चाडपर्व लक्षित सुपथ मूल्यको पसलमा चामल र नुन बिक्रि हुन नसकेको हो ।
सुपथ मूल्यको पसलमा नागरिकको अपेक्षा अनुसारको खाद्यवस्तु नहुँदा उपभोक्ता जाने गरेका छैनन् । खाद्यको पसलमा चामल मात्रै रहेको छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै रहेका छन् ।
पहिलकोे वर्षमा चिनी बेच्दै आएको पसलमा अहिले नुन मात्रै बिक्रि भइरहेको छ । दाङका सुपथ मूल्य पसलले अत्यावश्यक मानिने दाल, चिनी र तेलजस्ता खाद्य सामाग्री बिक्री नै गरेका छैनन् ।
गत असोज २१ गतेदेखि सुरु भएको सुपथ मूल्यको पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले हालसम्म ६४ दशमलव ७५ क्वीन्टल मात्रै चामल बिक्री गरेको छ । कार्यालयबाट दुई सय ८५ जनालाई मात्रै सहुलियतको चामल बिक्रि गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले गत वर्ष समर्थन तोकेको दुई सय क्वीन्टलमध्ये ७९ क्वीन्टल मात्रै बिक्रि गरेको थियो ।
यसवर्ष क्वीन्टलमा सात सय सहुलियत दिएता पनि चामल सोचेजस्तो बिक्री भएको छैन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले स्टिम जिरा मसिनो चामल मात्रै सहुलियत पसलमा बिक्री भइरहेको बताउनुभयो ।
सहुलियत दिएको चामल पनि कम बिक्री हुनुमा जिल्लामा उत्पादन बढी हुनु तथा पायक पर्ने स्थानमा कार्यालय नहुनु नै भएको उहाँले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरको गोदाममा सोना मन्सुली चामल चार सय २० क्वीन्टल, स्टिम जिरा मन्सुली चामल चार सय ४८ क्वीन्टल गरी जम्मा आठ सय ६८ क्वीन्टल स्टक रहेको छ । खाद्यले अन्य समयमा पनि चामल बिक्री गर्दै आएको छ । सुपथ मूल्यको पसल मंसिर ३ गतेसम्म चल्ने छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन घोराही शाखाले सञ्चालन गरेको सहुलियत पसलमा ८५ बोरा नुन बिक्री गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले ७६ हजार पाँच सय रुपैयाँमा नुन बेच्दा सात सय आठजनाले आठ हजार पाँच सय रुपैयाँ सहुलियत पाएको जानकारी दिनुभयो ।
गत वर्ष असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म घोराहीमा खुलेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चाडपर्व लक्षित सुपथ मूल्य पसलले ८६ बोरा नुन बेचेको थियो । गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीले चार हजार तीन सय किलो नुन ७७ हजार चार सय रुपैयाँमा बिक्री गरेको थियो ।
खुद्रा मूल्य २० रुपैयाँ प्रतिकिलो राखिएको आयोडिनयुक्त नुन चाडपर्व लक्षित सुपथ मूल्य पसलमा १८ रुपैयाँमा बिक्री गरिरहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड यस वर्ष पनि एक जनालाई बढीमा छ केजीसम्मका दरले नुन बिक्री गरिरहेको छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।