दाङ, १५ कार्तिक । तिहार आउन अझै करिब दुई साता बाँकी छ । तर फूल फुलिसकेको हुँदा बजारीकरण गर्न बुद्धिराज पौडेललाई भ्याईनभ्याई छ । ‘तिहार आउन बाँकी समय धेरै भएकाले पनि अहिले बजारमा अरु कार्यक्रमका लागि फूल बिक्रि गरिरहेका छौँ ।’ उनले भने-‘फूलिसकेका फूल अहिले जिल्ला बाहिर पनि निर्यात गरिरहेका छौँ ।’
बुद्धिराजसहित पाँच जना युवाहरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टीमा १६ बिगाह क्षेत्रफलमा फूल खेती गरेका हुन् । नेपाल संस्कृत विश्व विद्यालयको जग्गा भाडामा लिएर फूलका बेर्नादेखि फूलसम्म उत्पादन गरेर बिक्रि गरिरहेको उनले बताए ।
‘बाह्रै महिना बिक्रि गर्ने उद्देश्यका साथ फूलखेती गरेका छौँ ।’ उनले भने-‘अरु समयको तुलनामा तिहारको समयमा बढी खेती हुने गरेको छ, यसकारणले पनि बजारीकरणमा केहि समस्या हुन सक्छ ।’ सयपत्रीसंगै मखमली र गोदावरी फूलको पनि खेती गरिएको छ । फूलको बजार राम्रै भएकाले पनि ठुलो लगानीमा फूलखेती गरिएको उनले बताए ।
तुलसीपुर- ८ अस्वारामा पनि करिब १३ कठ्ठा जग्गा क्षेत्रफलमा फूल खेती गरिएको छ । बिगत चार वर्षदेखि फूलखेती गर्दै आएका तुलसीपुर-२ का गणेश भण्डारीले जग्गा भाडामा लिएर फूल खेती गरेका हुन् । बिगतका वर्षमा फूलखेतीबाट राम्रै आम्दानी भएपछि यसवर्ष पनि फूलखेती गरिएको उनले बताए ।
‘बिगतका वर्षमा सामुहिक फूलखेती गरिन्थ्यो, यसवर्ष एक्लै गरेको छु ।’ उनले भने-‘फूलको बजारीकरण यसवर्ष राम्रै हुने अनुमान गरेको छु ।’ उनले यसवर्ष फूलखेतीबाट ३ लाख बढी आम्दानी गर्ने लक्ष्य राखेको बताए । ‘फूलको बजार राम्रो देखिएको छ , तर पछिल्लो समय फूलखेती गर्नेको संख्या बढ्दै गएको छ ।’ उनले भने-‘स्थानीय सरकारले फूलको बजारीकरणमा सहजीकरण गर्न सके फूलले बजार पाउन सक्थ्यो ।’
तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरी प्लाष्टिकका फूल बिक्रि वितरणमा रोक लगाएकोमा उनले खुशी व्यक्त गरे । ‘उपमहानगरपालिकाले प्लाष्टिकका फूल बिक्रि वितरणमा कडाई गरेका कारणले पनि स्थानीय उत्पादनले राम्रै बजार पाउने देखेको छु ।’ उनले भने-‘तर तिहार अघि नै फुलिसकेको हुँदा बिक्रि गर्न समस्या देखिएको छ ।’
घोराहीका लोकेन्द्र रोकामगरलाई पनि फूलेका फूल बिक्रि गर्न भ्याईनभ्याई छ । तिहार लक्षितमात्रै होइन, उनले बाह्रै महिना फूल उत्पादन गरिरहनुभएको छ । फूलखेतीबाट उनले वार्षिक ५० लाख बढीको कारोबार गरिरहेका छन् ।
विदेशमा भन्दा स्वदेशमै केहि गर्नका लागि फूलखेती गरिरहेको उनले बताए । ‘फूलको बजार राम्रो देखेकोले स्वदेशमै केहि गर्न निरन्तर यस व्यवसायमा जोडिएको छु ।’ उनले भने-‘अहिलेसम्म यस व्यवसायबाट सन्तोष छु ।’ फूलिसकेको फूलको व्यवस्थापन गर्नका लागि चिस्यान केन्द्रको आवश्यक भएको उनले बताए । ‘चिस्यान केन्द्रमा कम्तिमा दुई हप्तासम्म जोगाउन सकिन्छ ।’ उनले भने-‘दुई हप्तासम्म जोगाउन सकेपछि बजारीकरण हुन सक्छ ।’
फूलबाट राम्रो आम्दानी भएपछि फूलखेतीमा आर्कषण थपिन थालेको छ । विभिन्न पेशा व्यवसायमा रहेकाहरु विषेशगरी तिहारलाई लक्षित फूलखेती गर्ने गरिएको छ । तुलसीपुरमा रहेको मेट्रो कलेजका विद्यार्थीले गतवर्ष फूलखेतीबाट चारलाख आम्दानी गरेका थिए । यसवर्ष ५ लाख बढी आम्दानी गर्ने गरी फूलखेती गरिएको मेट्रो कलेजका प्रमुख बसन्त विवश आचार्यले बताए ।
‘विद्यार्थीहरु उत्पादनसंगै बजारीकरणमा केन्द्रित छन् ।’ उनले भने-‘डिप्लोमा तहका विभिन्न सेमस्टरमा अध्ययनरत विद्यार्थीले फूलखेती गरिरहेका छन् ।’ विद्यार्थीलाई व्यवहारिक ज्ञानसिपको बोध गराउन पनि फूलखेतीले महत्वपूणर् भूमिका खेलेको उनले बताए । ‘पढ्दाखेरीको कुरा फिल्डमा लागु गर्न विद्यार्थीले पढ्दै कमाउँदै गरिरहनुभएको छ ।’ उनले भने-‘यसबाट विद्यार्थीलाई पनि आम्दानीको स्रोत बनेको छ ।’
कृषि ज्ञान केन्द्रका अनुसार दाङमा यसवर्ष २२ बिगाह बढी क्षेत्रफलमा फूलखेती गरिएको छ । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि पछिल्ला वर्षमा फूलखेती गर्ने किसानको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामिछानेले बताए ।
‘अहिलेसम्म फूलको बजार राम्रो छ, त्यसकारण पनि पुष्पखेतीमा जोडिने किसानको संख्या बढ्दै गएको छ ।’ उनले भने-‘तर यसवर्ष तिहार अघि नै फूल फुलिसकेको हुँदा किसानलाई केहि समस्या बनाउँछ कि भन्ने चिन्ता छ ।’
दाङमा उत्पादित फूल जिल्ला बाहिर नेपालगञ्ज, धनगढी, बुटवल, चितवन, पोखरा, काठ्माण्डौ लगायतका ठाउँमा जाने गरेको छ । बजारमा प्लाष्टिकका फूल निषेश गरेपछि बजारीकरणमा सहजता आउने किसानहरु बताउँछन् ।