२०८१ असोज ४ गते शुक्रवार

दुधमा आत्मनिर्भर दाङ

दाङ, १२ कार्तिक । दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि दाङ दुधमा आत्मनिर्भर बन्दै गएको हो ।

दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ ।

वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र दाङमा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ । जिल्लामा राजपुर दुधका लागि पकेट क्षेत्र भएको केन्द्रका प्रमुख सुदाम भट्टले बताउनुभयो ।

भैँसी स्रोत केन्द्रका रूपमा रहेको राजपुरलाई आधुनिकीकरण गर्दै लग्न सके जिल्लामा प्रशस्त मात्रामा दुध उत्पादन गर्न सकिने केन्द्रका प्रमुख भट्टको भनाई छ ।

दाङको देउखुरी क्षेत्रमा राजपुर गाउँपालिकासँगै राप्ती गाउँपालिका, गढवा र लमहीका विभिन्न क्षेत्रमा दुधका लागि किसानले गाई तथा भैँसी पाल्ने गरेका छन् । त्यसै गरी दाङ उपत्यका अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिकासँगै घोराहीका केही ठाउँमा दुधका राम्रा ठाउँ रहेको प्रमुख भट्टले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस