२०८१ माघ २ गते बुधवार

बडा दशैँका आज आठौँ दिन, बिहानैदेखि शक्तिपिठमा भिड

दाङ, ५ कार्तिक । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाआराधनासहित मनाइन्छ । आजका दिन सल्यानको खैराबाङ मन्दीर लगायत देशभरका शक्तिपिठमा बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस