२०८१ माघ ८ गते मङ्गलवार

बेमौसमी वर्षाले जनजीवन प्रभावित 

दाङ, १७ असोज । सोमबारदेखि परेको बेमौसमी वर्षाले विभिन्न ठाउँमा क्षति पु¥याएको छ । वर्षाका कारण ठाउँ–ठाउँमा घर डुबानमा परेका छन् भने भौतिक क्षतिसमेत पुगेको छ । वर्षात्पछि आएको कुला तथा नालामा पानीको बहाव बढ्दा धेरै ठाउँमा क्षति पुगेको छ ।

सोमबारमात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को सिद्धेश्वरी टोलमा शिवानी सार्कीको घर भत्किएको छ । कुलोमा पानीको बहाब बढेपछि घरको जगमा क्षति पु¥याउँदा घर भत्किएको तुलसीपुर उपमहागनर–पालिका विपद् व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले बताए ।

‘सोमबार ठूलो पानी परेको थियो । वर्षात्पछि कुलोमा पानीको बहाब बढेपछि शिवानी सार्कीको घर भत्किएको छ’ उनले भने– ‘घरको जग नै कुलामा परेको रहेछ, त्यसैले पनि जगमा क्षति पुग्दा घर भत्किएको रहेछ ।’ सार्कीको एकतले टिनले छाएको घर भत्किदा करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए ।

‘घर भत्किदा पाँच लाख बराबरको क्षति भएको छ’ उनले भने– ‘बिहान भएका कारणले पनि मानवीय क्षति हुन पाएन् ।’ बेमौसमी वर्षा्तका कारण विभिन्न ठाउँमा पानीले क्षति गरेको उनले बताए । वर्षापछि नालामा पानी बढेपछि तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ६ मा रहेको कभर्ड हलमा पनि पानी पसेको छ । ठूलो क्षति नगरे पनि पानी पस्दा कभर्ड हल हिलाम्मे भएको छ ।

कभर्डहल पनि पानीको निकास हुने ठाउँमै निर्माण भएका कारण सोमबार परेको ठूलो पानी पसेको डाँगीले बताए । ‘पानीको निकास हुने ठाउँ भएन’ उनले भने– ‘पानीको निकास हुन नसकेपछि कभर्ड हलमा पानी गएको देखिएको छ । यस्तै मुसलधारे वर्षा भएका कारण अन्य ठाउँमा पनि क्षति पुगेको छ । वर्षात्का कारण सोमबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ र ९ का करिब १५ घरमा बाढी पसेको हो ।

‘नालाको पानी थुनिदा करिब १५ घरमा पानी पसेको छ’ विपद् शाखा प्रमुख डाँगीले भने– ‘हामीले स्थलगत अनुगमन नै गरेका थियौँ, अनुगमनको क्रममा कुलाको पानी थुनिदा घरमा पानी पसेको छ ।’ घरमा पानी पसे पनि ठूलो क्षति नगरेको उनले बताए । वर्षात्का कारण तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ७ को गुल्मचोक नजिकै पनि दुई÷तीनवटा घरमा पानी पसेको थियो । वर्षात्का कारण एउटा नाई पसलमा पानी जलमग्न भएको हो ।

वर्षात्पछि आएको बाढीले केही कुलाको बाँधमा सामान्य क्षति गरेको तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जिसीले बताए । ‘केही कुलाको बाँधमा क्षति पुगेको थियो’ उनले भने– ‘क्षति भएको बाँधमा मर्मत गरिसकेका छौँ ।’ वडामा वर्षात्ले ठूलो क्षति नपु¥याएको उनले बताए । वर्षात्ले भर्खरै छरेको तोरीमा पनि क्षति गरेको छ । लगातार परेको वर्षात्ले तोरी उम्रन नपाउँदै क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले वर्षात्ले कृषि खेतीमा भएको क्षतिको विवरण अझै नआएको बताए । ‘वर्षात्ले तोरी बाली र तरकारीमा क्षति पुगेको छ’ उनले भने– ‘ठूलो क्षति नभएका कारण पनि आधिकारिक विवरण आइपुगेको छैन् ।’ उनले धान बालीमा पनि क्षति भएको विवरण नआएको बताए ।

‘यसवर्ष मनसुन लम्बिएका कारण अहिले वर्षा भएको छ’ उनले भने– ‘धानबाली अझै पनि तयारी अवस्थामा नभएकाले अहिलेको वर्षाले ठूलो क्षति गरेको छैन् ।’ उनले देउखुरी क्षेत्रमा धान बाली भित्र्याउन शुरू भएको तर वर्षातले क्षति नगरेको बताए । ‘अहिले वर्षात्को मौसम छ, धान काट्ने अवस्थामा पुगेको भएपनि मौसम हेरेर मात्रै काट्न अनुरोध गर्दछु’ उनले भने–‘गतवर्ष बेमौसमी वर्षात्ले क्षति गरेको हो, यसवर्ष पनि नहोला भन्न सकिदैन्, त्यसलै सावधानी अपनाउन किसान वर्गमा अनुरोध गर्दछु ।’

तुलसीपुर उपमहानगर–पालिकाको कृषि शाखा प्रमुख धनराज गौतमले सोमबार र मंगलबार भएको वर्षात्ले सामान्य क्षति गरेकाले पनि आधिकारिक विवरण नआएको बताए । ‘ठूलो क्षति भएको छैन्, कहिँ कतै सामान्य क्षति भएकाले पनि हामी कहाँ आएको छैन्’ उनले भने– ‘धान बाली भित्र्याउने अवस्थामा नभएकाले पनि त्यति ठूलो समस्या नपारेको होला ।’ -प्रदेश टुडे दैनिकबाट

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस