दाङ, १६ भदौ । पशुपालक किसानका लागि आएको तीन करोड बढी रकम फ्रिज भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङमार्फत विभिन्न शीर्षकमा आएको रकम फ्रिज भएको हो ।
किसानका लागि आएको बजेट खर्च नहुँदा कार्यालयको वित्तीय प्रगति निराशाजनक देखिएको छ ।
दाङमा आर्थिक वर्ष २०७९/०८० का लागि आएको नौ करोड १ लाख ५० हजार ३०० रुपैयाँमा पाँच करोड ८६ लाख ४७ हजार ६०० रुपैयाँ मात्रै खर्च भई तीन करोड १५ लाख दुई हजार सात सय रुपैयाँ फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा चालु बजेटतर्फ आठ करोड ५३ लाख २९ हजार आठ सयमा पाँच करोड ७८ लाख ८२ हजार पाँच सय रुपैयाँ खर्च भई दुई करोड ७४ लाख ४७ हजार तीन सय रुपैयाँ फ्रिज भएको छ ।
त्यसैगरी पूँजीगततर्फ ४८ लाख २० हजार पाँच सय रुपैयाँ आएकोमा सात लाख ६५ हजार एक सय रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी ४० लाख ५५ हजार चार सय रुपैयाँ फ्रिज भएको छ ।
कार्यालयमा साधारण कार्यक्रमतर्फ एक करोड ३० लाख तीन हजार दुई सय, एक करोड ११ लाख ५० हजार बजेट विनियोजन गरिएको खाद्य तथा पोषण सुरक्षा कार्यक्रमको एक करोड ३० लाख तीन हजार दुई सय, स्मार्ट कृषि गाउँ कार्यक्रममा एक करोड ३६ लाख २० हजार रुपैयाँ विनियोजन भएकोमा त्यसको पनि ८८ लाख ८१ हजार दुई सय रुपैयाँ फ्रिज भएको छ ।
यसैगरी ४० लाख ५८ हजार चार सय रुपैयाँ विनियोजन गरिएको मत्स्य विकास कार्यक्रमको पनि १४ लाख ९१ हजार छ सय रुपैयाँ, दुई करोड दुई लाख ४८ हजार छ सय रुपैयाँ विनियोजन भएको सेवा टेवा विस्तार कार्यक्रमको ३० लाख नौ हजार पाँच सय रुपैयाँ, कार्यालयले पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि ८२ लाख ४२ हजार नौ सय रुपैयाँ विनियोजन गरेकोमा ३२ लाख ५३ हजार दुई सय रुपैयाँ फ्रिज भएको छ ।
यस्तै २३ लाख रुपैयाँ विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (व्लक विकास) कार्यक्रमको पनि तीन लाख ११ हजार आठ सय रुपैयाँ फ्रिज भएको छ ।
जिल्लाका १० वटै पालिका हेर्ने गरी लुम्बिनी प्रदेशअन्तर्गत २०७५ भदौ २८ गते स्थापना भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपंक्षी/मत्स्य उपचार, प्रयोगशाला र परामर्श सेवामा काम गदै आएको छ । गत वर्ष नौ करोड एक लाख ५० हजार तीन सय रुपैयाँ बजेट पाएको कार्यालयले यस वर्ष छ करोड ६१ लाख ८८ हजार रुपैयाँ मात्रै पाएको छ ।
सबैभन्दा धेरै उत्पादनमा आधारित प्रोत्साहन अनुदानका लागि एक करोड बजेट रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । यसमा किसान लाई उत्पादनका आधारमा प्रोत्साहन रकम अनुदानको रुपमा दिइने छ ।
भट्टका अनुसार दूधमा बढीमा प्रतिलिटर २ रुपैयाँ, जिउँदो खसी/ बोका/ भेडाको हकमा प्रतिकेजी २५ रुपैयाँ, राँगा, बंगुुरको हकमा प्रतिकेसी १५ रुपैयाँ, माछाको १० रुपैयाँ र अण्डाको हकमा दुई सय ५० प्रति हजार गोटाको दरले अनुदान दिइने छ ।
सरकारले बनाएको निर्देशिकाको आधारमा प्रोत्साहन रकम दिने गरिएको बताउँदै उहाँले प्रक्रिया पूरा गरेमा अनुदान पाइने बताउनुभयो । यस वर्ष साधारण कार्यक्रममा दुई करोड १५ लाख एक हजार बजेट छ ।
साधारण कार्यक्रमको पूँजीगततर्फ ५० हजार मात्रै र चालुतर्फ दुई करोड १४ लाख ५१ हजार बजेट रहेको छ । खाद्य तथा पोषण सुरक्षा कार्यक्रमतर्फ एक करोड ६९ लाख ४४ हजार रहेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ ७० लाख रुपैयाँ विनियोजन भएको छ ।
मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम ६१ लाख ४ हजार, पशुपंक्षी स्रोत प्रविधि सेवा टेवा कार्यक्रमतर्फ एक करोड १७ लाख चार हजार, पशु स्वास्थ्य नियमन कार्यक्रमतर्फ २१ लाख ६१ हजार र पशु सेवा विभाग (संघ सर्शत अनुदान) तर्फ ६ लाख ५० हजार बजेट रहेको कार्यालयले जानकारी दिएको छ ।