२०८१ असोज ४ गते शुक्रवार

पूर्वाधार अभावमा अटोभिलेज

तुलसीपुर अटोभिलेज व्यवस्थापनको काम विसं. २०७४ सालदेखि शुभारम्भ गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ पातुखोला किनारामा अतिक्रमण भएको क्षेत्रलाई अटोभिलेज बनाउने काम भएको हो । तुलसीपुरको नयाँ बसपार्कमा भएको अटोभिलेज अहिलेको ठाउँमा स्थानान्तरण गर्दा बजारलाई सुन्दर बनाउन निकै ठूलो टेवा पुगेको छ । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको कार्यकालमा यो महत्वपूर्ण काम भएको हो ।

शुरूवातको चरणमा जसोतसो व्यवसायीले काम चलाएका छन् । अहिले तुलसीपुर अटोभिलेजमा करिब १५० अटो व्यवसायी छन् भने कम्तिमा पनि पाँच सयले रोजगारी पाएका छन् । तर तुलसीपुर अटोभिलेजमा पूर्वाधारको काम व्यवस्थित भएको छैन् । म नेतृत्वमा आएपछि पनि थुप्रै काम गर्न बाँकी छ । यसको पूर्वाधार व्यवस्थापनका लागि राज्यको लगानी पछिल्लो समय निकै कम छ ।

यो पनि एउटा गौरबको योजना हो भन्ने आम नेतृत्वलाई पर्न सकेको छैन् । पूर्वाधार विकासका लागि थुप्रै लगानीको आवश्यक छ । तर राज्यले आवश्यक बजेटको व्यवस्थापन गर्न सकेको छैन् । अटोभिलेजको बिचैमा पर्ने पातुखोलामा पुल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना) को काम अघि बढेपनि पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छैन् । पुल नहुँदा अटोभिलेजमा निकै समस्या भएको छ । वडा नम्बर ६ मा त सडक पनि राम्रो छैन् । वडा नम्बर ९ मा पुग्नलाई पुल नहुँदा वडा नम्बर ५ को पुल घुमेर आउनुपर्ने अवस्था छ । पुल मात्रै होइन्, गतिलो नाला पनि छैन् । नालाको काम नहुँदा अहिले वर्षायाममा निकै समस्या छ ।

अटोभिलेज क्षेत्रमा आरसिसीको आवश्यकता छ । तर बजेट अभावमा त्यो काम हुन सकेको छैन् । जसले गर्दा वर्षायाममा हिलो र हिउँदमा धुलोले सताउने गरेको छ । तीन वर्षअघि प्रदेशको लगानीमा केही भाग आरसीसी गरिएको छ तर अझै धेरै भाग आरसीसी गर्न बाँकी छ । यसले गर्दा हामी व्यवसायीलाई पनि समस्या भएको छ । नयाँ व्यवसायीलाई आउने वातावरण बन्न सकिरहेको छैन् । ठाउँको पर्याप्तता बनाउन नसक्दा समस्या देखिएको छ ।

अहिले करिब ५० नयाँ व्यवसायी आउन तयारी अवस्थामा हुनुहुन्छ । तर आरसीसी नभएका कारण हामीले ठाउँ उपलब्ध गराउन सकेका छैनौँ । म यहाँहरू मार्फत नै अनुरोध गर्न चाहन्छु । तीनै तहका सरकारले अटोभिलेजको खोला  किनारामा आरसीसी गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्छ । बाँकी भएको आरसीसीको काम तत्काल गर्नुपर्ने काम हो । गतवर्ष पनि प्रदेशको क्रमागत बजेट अन्त गएको हो । तर यो वर्ष क्रमागत बजेटको काम लगाउने योजनामा छौँ ।

तुलसीपुर उपमहानगरपालिकाकै गौरबको योजना भएपनि राज्यको लगानी पुग्न सकेको छैन् । समग्रमा तीनै तहको सरकारले आवश्यक लगानी गरेका छैनन् । स्थानीय सरकारले केही नगन्ने मात्रामा लगानी गरेको छ । तर त्यसलाई लगानी गरेको छ भन्ने अवस्था छैन् । यसकारण पनि तीनै तहका सरकारको अटोभिलेजप्रतिको दृष्टिकोण पुग्न नसकेको भन्न सकिन्छ । प्रदेश र केन्द्र सरकारको बजेट केही छैन् । उपमहानगरपालिकाको आम्दानीको मुख्य स्रोत अटोभिलेजलाई लिन सकिन्छ ।

हामी करिब १५० अटो व्यवसायी छौँ । यसलाई हामीले औद्योगिक हबको रूपमा पनि लिन चाहन्छौँ । धेरै मानिसले सीप सिकेर जीविकोपार्जन गर्ने ठाउँ अटोभिलेज बनेको छ । हामीले परिकल्पना गरेको अटोभिलेज अझै पाउन सकेको छैनौँ । औद्योगिक हबमात्रै नभएर पूर्वाधारसहितको सफासुन्दर अटोभिलेजको परिकल्पना गरिएको छ । यसका लागि सरकारको ध्यान जानुपर्छ । अटोभिलेजलाई आर्थिक अभावकै कारण सोचेको जस्तो बनाउन सकेका छैनौँ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस