२०८३ साउन ३ गते आइतवार

काल बन्दै जंगली च्याउ


दाङ, २ भदौ । गत साउन २८ मा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ टोड्केका अजय सुनारको घरमा जंगली च्याउको तरकारी पाक्यो ।

आइतबार दिउँसो जंगलबाट ल्याएको च्याउ विषालु छ भन्ने थाहा नपाउँदा च्याउको तरकारी खाएका तीनै जना रातीबाट बिरामीमा परे । च्याउको तरकारी खाएर सुतेका तीनै जनामा बान्ता हुने समस्या देखिएपछि बंगलाचुली अस्पतालमा पुगे ।

अस्पतालमा सोमबारमात्रै पुगेका तीन जनाको बंगलाचुली अस्पतालमा उपचार संभव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगे । प्रतिष्ठानमा पुग्दा तीनै जना गम्भिर बिरामी परिसकेका थिए । तीनजना मध्ये छोरीको अवस्था झनै चिन्ताजनक भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो ।

तर छोरी सकुसल फर्किन सकिनन् । अस्पतालमा उपचारको क्रममा ११ वर्षिया छोरी अस्मिता सुनारको बुधबार निधन भएका थियो । छोरीको निधन भएको दुई दिन बित्न नपाउँदै आमा २८ वर्षिय अमिता सुनारको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

‘साउन २८ गते जंगली च्याउ खाएका तीन जनामध्ये आमाको शुक्रबार दिउँसो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ, छोरीको दुई दिन अघि बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।’ उनले भने-‘जंगली च्याउ नचिनेर खाँदा एकै परिवारको दुई जनाको मृत्यु भएको हो ।’

गएको साउन २८ गते स्थानीय जंगलबाट च्याउ लिएर खाँदा मृतक इश्वरीका आमाछोरीसहित तीन जना बिरामी परेका थिए । बिरामी परेका तीन जनामध्ये दुई जना आमा छोरीको मृत्यु भएको हो । बिरामी परेका ३६ वर्षिय श्रीमान अजय सुनारको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यस्तै गत साउन ९ मा दंगिशरणमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी परेका थिए । दंगीशरण गाउँपालिका वडा नंं ७ सिमठाना निवासी बजारु चौधरीको श्रीमती रामप्यारी चौधरीले नजिकैको जंगलबाट नाम नखुलेको च्याउँ ल्याएर आफ्नो नातीसंग खाँदा उनको ३ वर्षिय नाती अमित चौधरी बिरामी परेको थियो ।

मंगलबार बिहान पौने १ बजेतिर बालक बिरामी भएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएपछि प्रतिष्ठानमा उपचार भएको थियो ।

यस्तै गत असार ३० मा बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका थिए । जंगली च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र १२ वर्षीय छोरा यकिन वली बिरामी परेका थिए ।

बंगलाचुली गाउँपालिका-१ का विष्णु कुँवरले जङ्गलमा भटाएको च्याउ घरमा पकाएर खाँदा आमा छोरा बिरामी परेका थिए । बिरामी दुवै जनाको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि निको भएका छन् । उल्लेखित घटना केहि प्रतिनिधिमूलक घटनामात्रै हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यसवर्ष बैशाख १ गतेदेखि भदौ १ गतेसम्म दाङमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना बिरामी परेका छन् । ‘जंगली च्याउ अभिषाप बनेको छ ।’ उनले भने-‘दाङमा गत बैशाखदेखि हालसम्म जंगली नचिनेको च्याउ खाँदा दुई जनाको मृत्यु भइसकेको छ, भने ३० जना गम्भिर बिरामी परेका छन् ।’

यसैबीच प्रहरीले जंगली च्याउँ खाँदा चिनेर मात्र खान आग्रह गरेको छ । ‘जंगली नचिनेको च्याउ नखान आग्रह गर्दछौँ ।’ जिल्ला प्रहरी प्रवक्ता गौतमले भने-‘च्याउकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ, त्यसैले सचेत बनौँ ।’

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस