सल्यान, १० साउन । २६ वर्ष अघि २०५४ सालतिर सल्यानको कपुरकोटमा कुनै सहकारी संस्था थिएनन् । आम नागरिकलाई वचत गर्नेदेखि आवश्यक कर्जा लिन कि त सल्यानको खलंगा जानुपथ्र्यो कि त दाङको तुलसीपुर । कर्जा लिन र वचत गर्न बैंकभन्दा अरुबाट संभव थिएन ।
अहिलेकोे कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा परिचित कपुरकोटमा तत्कालिन अवस्थामा सानो बजार थियो । सुरक्षाको चुनौति पनि थियो । त्यस बेलामा डण्ड बहादुर सेनको नेतृत्वमा साना किसान सहकारी संस्था स्थापना भयो ।
वि.स. २०५४ साल जेठ २१ गते विधिवत् रुपमा साना किसान सहकारी डिभिजन कार्यालय दाङमा दर्ता गरेपछि कपुरकोटमा सहकारी संचालनको अवधारणा अघि शुरु भएको हो ।
तत्कालिन अवस्थामा शसस्त्र द्वन्द्वको जगजगीका बिचमा सहकारी संस्था संचालन गर्नु त्यति सहज भने थिएन् । सहकारीले नगद कारोबार गर्नु निकै चुनौति थियो । त्यस बेलामा कृषि विकास बैंकको साना किसान विकास आयोजना अन्तर्गत कपुरकोटमा साना किसान सहकारी संस्था स्थापना भएको हो ।
शुरुमा २५ जनाले प्रतिव्यक्ति ५१ रुपैँया संकलन गरेर सहकारी संचालनका लागि प्रक्रिया अघि बढेको थियो । २६ वर्ष अघि स्थापना भएको सहकारीलाई शुरुमा ठुलै चुनौति भयो ।
शेयर सदस्य बनाउनका लागि विश्वास गर्ने वातावरण बनाउनेदेखि पुँजी व्यवस्थापन र परिचालनमा निकै समस्या खेप्नुप¥यो । ‘कर्जा परिचालन गर्न सहज थिएन्, किनभने उ बेलामा आर्थिक जुटाउन निकै समस्या थियो ।’ सहकारी संस्थाका प्रवन्धक जीत प्रसाद आचार्यले भन्नुभयो –‘नेपाल बंकले शुरुमा दुई लाख जुटाउन अनुरोध गरेको थियो, त्यो रकम पनि जुटाउन निकै मुस्किल परेको थियो ।’
तर पछिल्लो समय साना किसान सहकारी संस्थाले नागरिकको विश्वास जित्दै गएको छ । कपुरकोट गाउँपालिक भित्रमै साना किसान सहकारी संस्था नमुनाकै रुपमा संचालित छ ।
साना किसानले स्थापनाको २६ वर्षको अवधिमा आफ्नै भवन निर्माणदेखि शेयर सदस्यको वृद्धिमा सफलता हासिल गरिसकेको छ । सहकारीले अहिलेसम्म १ हजार ६ सय भन्दा बढी नागरिकलाई शेयर सदस्यमा जोडिसकेको छ ।
साना किसान सहकारीमा अहिलेसम्म १ हजार ६ सय १३ शेयर सदस्य आवद्ध छन् । सहकारीमा अहिलेसम्म समुहको संख्या २ सय ७५ पुगिसकेको अध्यक्ष डम्बर बहादुर यरीले बताउनुभयो ।
उहाँका अनुसार सहकारीमा आवद्ध हुने शेयर सदस्यमध्ये पुरुषको तुलनामा महिला दोब्बरले बढी छन् । ‘सहकारीमा ५ सय ५४ पुरुष शेयर सदस्य छन् भने महिला शेयर सदस्य १ हजार ५९ महिला शेयर सदस्य छन् ।’ उहाँले भन्नुभयो–‘पुरुषहरु अधिकांश घर बाहिर हुने भएका कारण पनि महिलाहरु बढी जोडिनुभएको छ ।’ सहकारीले पछिल्लो विवरण अनुसार १४ करोड ५६ लाख ७१ हजार लगानी गरिसकेको छ ।
यस्तै सहकारीले हालसम्म ६ करोड १८ लाख ४१ ह्जार निक्षेप जम्मा गरेको छ भने संस्थाको शेयर रकम १ करोड ५८ लाख ८८ हजार पुगेको छ । कपुरकोट गाउँपालिकाका ६ वटै वडामा कार्यक्षेत्र रहेको साना किसान सहकारीले प्रत्यक्षरुपमा हाल चार जनालाई रोजगारी प्रदान गरेको छ ।