दाङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्नुअघि उहाँले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।
व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन ।