दाङ, ३१ असार । लुम्बिनी प्रदेशसभामा विषयगत समिति गठन भएका छन् । प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठकले ६ वटा विषयगत समिति गठन गरेको हो ।
सभामुख तुलाराम घर्तीले समितिमा सदस्य मनोनयन गरेको जानकारी दिनुभयो । सभामुख घर्तीका अनुसार प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२ जना, अर्थ उद्योग तथा पर्यटन समितिमा १२ जना, भौतिक पूर्वाधार विकास समितिमा १४ जना, प्रदेश मामिला तथा कानुन समितिमा १२ जना, सामाजिक विकास समितिमा १२ जना र कृषि वन तथा वातावरण समितिमा १५ जना सदस्य रहनेछन् । समितिको नेतृत्व सदस्यहरुको सहमतिमा चयन गरिने छ ।
प्रदेशसभाको शनिबारको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले प्रदेशसभामा पेस गर्नुभएको थियो ।
त्यस्तै स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्नुभएको थियो । संशोधन विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल सकिएको छ ।
लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेशसभामा पेस गरेको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता भएको छ । लुम्बिनी प्रदेशसभा अर्को बैठक साउन ८ गते बस्ने गरी सकिएको छ ।