२०८१ असोज ४ गते शुक्रवार

पुरानै लयमा अझै फर्किएन, कोइलाबास

दाङ, २९ असार । बावुबाजेले नुनदेखि सुन किन्ने ठाउँ हो दाङको कोइलाबास नाका ।

करिब चार दशकअघि सम्म भिडभाड हुने कोइलाबास साविक राप्तीका पाँचै जिल्लाको मूख्य व्यापरिक केन्द्र थियो ।

गाउँ गाउँमा सडक पुग्यो । क्रमश जताततै बजार बिस्तार हुँदै गएपछि कोइलाबासमा चहलपहल घट्न थाल्यो ।

व्यापार हुन छाडेपछि व्यवसायी पनि विस्थापित हुन पुगे । कुनै समय भिडभाड हुने कोइलाबासमा अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन् ।

कोइलाबासलाई पुरानै लयमा फर्काउनका लागि सरकारले पूर्व–पश्चिम राजमार्गबाट कोइलाबास पुग्ने सडक कालोपत्रे ग¥यो ।

महिना दिन लगाएर पुग्न लाग्ने कोइलाबास अहिले एक दिनमै आउ–जाउ गर्न सकिन्छ तर कोइलाबासले पक्कि सडक पाएपछि पनि कारोबार पुरानो लयमा फर्कन सकेको छैन् ।

बावुबाजेले नुनदेखि सुनसम्म किनेको कोइलाबासमा अहिले सियो धागोसमेत पाउँदैन् । ‘दैनिक उपभोग्य सामग्रि समेत भारतको भर पर्नु परेको छ ।’ स्थानीय ६० वर्षिय शहिद सिद्धिकीले भने–‘परिवर्तन होला भन्ने आश थियो, खै अहिलेसम्म केहि परिवर्तन देखिएन् ।’

सडक कालोपत्रै भएसंगै बजार व्यवस्थित हुने आशा भएपनि त्यसो हुन नसकेको उनले बताए । ‘सडक पक्की बन्यो , तर बजार अझै बस्न सकेको छैन् ।’ उनले भने–‘अहिले त हामीले सबै चिजका लागि भारतकै भर परेका छौँ ।’

कोइलाबासले पक्कि सडक पाएपनि अधिकांश पूर्वाधारको अभाव झेलिरहेको छ । कोइलाबासमा अझैपनि खानेपानीको हाहाकार छ भने सार्वजनिक शौचालय समेत छैन् ।

आधारभूत आवश्यकताभित्र पर्ने कुराको समेत व्यवस्थापन नहुँदा समस्यामा स्थानीय छन् । ‘गर्मी छ, खानेपानी धारामा छैन्, गढवा गाउँपालिका, लमही नगरपालिकाले दमकलमा ल्याएको पानी खाइरहेका छौँ ।’

अर्का स्थानीय ६५ वर्षिय नियामततुल्ला सिद्धिकीले भने–‘कोइलाबास देशकै पुरानो भन्सार नाका हो, तर अहिले राज्यले हामीलाई प्राथमिकतामा पार्ने गरेको छैन् ।’ कोइलाबासले अहिलेसम्म विद्युत, संचारको मात्रै सुविधा पाएको छ । तर अधिकांश आवश्यकता अझै पनि पुरा हुन सकेको छैन् ।

‘खानेपानी समेत खान पाएका छैनौँ, अरुको के कुरा गरम ?’ उनले भने–‘हाम्रो पुस्ताको जिन्दगी यस्तै दुखमा बित्ने भयो ।’ कोइलाबास नाकासंग जोडिएको सडक पक्कि भएपनि व्यापारिक केन्द्र बन्न सकेको छैन् । सडकको सहजतासंगै प्युठानको स्वर्गद्धारी पुग्ने भारतीय नागरिकको चहलपहल छ ।

ठुला मालबहाक ट्रक आवातजावात गरेका छैनन् । मूख्य नाका भएपनि आवश्यक कार्यालयहरु प्लान्ट क्वारेन्टाइन, विषदी क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन जस्ता कार्यालय स्थापना हुन नसक्दा चहलपहल बढ्न नसकेको भन्सार नाका प्रमुख दिपक शर्माले बताए ।

‘राज्यले अब विस्तारै राजश्व वृद्धिका लागि पहल थाल्दैछ ।’ उनले भने–‘२÷३ वर्षअघि कृष्णनगरको छोटी भन्सार नाका अन्तगर्त संचालित थियो, तर अहिले नेपालको मूल्य भन्सार नाका भएको छ ।’

व्यापार समन्वयमा भारतको व्यवास्ता हुँदा पनि नाकामा व्यवसायीक चहलपहल कम देखिएको उनले बताए ।

‘नेपालले जति मूल्य बराबरको पनि सामान निर्यात गर्न सक्छ , तर भारतले आवश्यक व्यवस्थापन गर्न नसक्दा ठुला सामानहरु निर्यात गर्न सकिएको छैन ।’ उनले भने–‘नेपालबाट निर्यात गरेको सामानको भारतले जाँचपास गर्ने व्यवस्थापन गर्न नसक्दा निर्यातमा समस्या भएको हो । ’

कोइलाबास नाकालाई पुरानै लयमा फर्काउनका लागि विभिन्नस्तरमा छलफल गरिरहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले बताए ।

‘पालिकाले मात्रै पहल गरेर हुने रहेनछ ।’ उनले भने–‘वैदेशिक नीतिमा पर्ने भएका पालिकास्तरबाट पहल निकै कमजोर छ ।’

ठुलो नाकाको रुपमा विकास गर्नका लागि प्रदेश र संघ सरकारलाई पहल गरिरहेको उनले बताए । ‘ठुलो नाकाको रुपमा विकास गर्नुपर्छ भनेर लागेका छौँ ।’ उनले भने–‘यसको विकास हुन सकेपछि आर्थिक विकासमा सहयोग पुग्नेछ ।’

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस