दाङ, २८ असार । काम गर्ने उमेर समूहका नागरिक धमाधम पलायन हुन थालेपछि देश विकासमै असर पर्ने चिन्ता हुन थालेको छ ।
पढाई र कामको खोजीमा नेपालबाट दैनिक २ हजारभन्दा धेरै युवा विदेश जाने गरेका छन् । २०७८ सालको जनगणनाअनुसार नेपालमा १५ वर्ष मुनिका झण्डै २८ प्रतिशत र ६० वर्षमाथिका १० प्रतिशत गरि ३८ प्रतिशत नागरिक अरुमा आश्रित छन् । १५ देखि ४९ वर्ष उमेरका ६२ प्रतिशत नागरिक छन् ।
जनगणनाले उर्जाशिल श्रमशक्तिमध्ये २१ लाख ६९ हजार ४ सय ७८ जना नेपाली विदेशमा रहेको देखाए पनि वैदेशिक रोजगार विभागले कम्तिमा ४० लाख नेपाली विदेशमा रहेको बताउँदै आएको छ । यो श्रमशक्तिलाई नेपालमै रहने अवस्था बनाउन सरकारले व्यवहारिक कार्ययोजना बनाउनुपर्ने भक्तपुरका विकास कार्कीले सुझाव दिनुभयो ।
सरकारले रोजगारी सिर्जना र नवप्रवर्तनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगारलाई तालिम, युवा उद्यमी, विदेशबाट फर्किएकालाई सहुलियत कर्जा लगायत कार्यक्रम सञ्चालन गरे पनि युवा पलायन रोकिएको छैन ।
यो असन्तुलन रहिरहे केही वर्षपछि नेपालमा आश्रित उमेर समुहको सङ्ख्या बढ्ने र यो अवस्था चिन्ताजनक हुने जनसङ्ख्या विषयका प्राध्यापक डाक्टर केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो । नेपालमा अहिले १६ देखि ४० वर्षका युवाको जनसङ्ख्या साढे ४६ प्रतिशत छ ।
यो उत्पादनका हिसाबले सुनौलो अवस्था भएको जनसङ्ख्याविद बताउँछन् । तर, यो उत्पादनशिल उमेर समुहको उर्जा र सक्रियताको उपयोग गर्ने खालको नीति बनाउन भने सरकारले नसकिरहेको उनीहरुको भनाइ छ ।