
तुलसीपुर, १२ असार । तुलसीपुरमा एक वर्षको अवधिमा ७ सय बढीलाई डेंगीको संक्रमण देखिएको छ । चालुवर्षको साउनदेखि हालसम्म तुलसीपुरमा ७ सय ७१ जनालाई डेंगीको संक्रमण देखिएको हो ।
बितेको आर्थिक वर्ष २०७८÷२०७९ को तुलनामा चालुवर्षमा डेंगीका बिरामी अत्याधिक बढेको तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो ।
तुलसीपुरमा आर्थिक वर्ष २०७८÷२०७९ मा ३६ जनालाई मात्रै डेंगीको संक्रमण देखिएकोमा चालुवर्षमा डेंगीका बिरामी ह्वात्तै बढेको जनस्वास्थ्य निरीक्षक केसीले बताउनुभयो ।
डेंगी लामखुट्टेबाट सर्ने रोग हो । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा समस्या देखिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने डाक्टरहरुले बताएका छन् । लामखुट्टेको टोकाईबाट मलेरिया पनि संक्रमण फैलिने भएकाले सावधानी अपनाउन डाक्टर मेगना नेपालले सुझाव दिनुभएको छ ।
तुलसीपुरमा डेंगीबाहेक अन्य महामारीजन्य रोगहरुको संक्रमण बितेको आर्थिक वर्षभन्दा कम देखिएको छ । तुलसीपुरमा अघिल्लो आर्थिक वर्षमा १ हजार ८ सय ५८ जनालाई टाइफाइट देखिएकोमा चालुवर्षमा १ हजार १ सय ७१ जनालाई संक्रमण देखिएको छ ।
यस्तै अघिल्लो आर्थिक वर्षमा २ हजार ६ सय ९ जनालाई झाडापखालाको समस्या देखिएकोमा चालुवर्षमा २ हजार ५ सय ७९ जनामा समस्या देखिएको छ । यस्तै चालुवर्षमा १ हजार ५ सय ६८ जनालाई आउमासी देखिएकोमा अघिल्लो आर्थिक वर्षमा २ हजार ३०५ जनालाई समस्या देखिएको थियो ।
यस्तै अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ६ जनालाई रगतमासी देखिएकोमा चालुवर्षमा ७ सय ७० जनामा देखिएको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिनुभयो । यस्तै जुकाजन्य संक्रमण अघिल्लो आर्थिक वर्षमा ३ हजार ११६ जनालाई देखिएकोमा चालुवर्षमा १ हजार ७७० जनालाई देखिएको छ । यस्तै अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा २ सय ३५ जनालाई जण्डीस देखिएकोमा चालुवर्षमा ७७ जनालाई देखिएको छ ।
यसैबिच महामारी रोगहरुको रोकथाम तथा नियन्त्रणबारे तुलसीपुरमा सरोकारवालालाई अभिमूखिकरण गरिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतलाई वर्षाको मौसमसंगै विभिन्न महामारीजन्य रोगबाट बच्ने उपायबारे अभिमूखिकरण गरिएको हो ।
नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले तुलसीपुरमा झाडापखाला, डेंगी, जुगाजन्य संक्रमण लगायतका रोगको जोखिम रहेकोले सावधान अपनाउन आग्रह गर्नुभयो ।
यस्तै स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्यौपानेले वर्षा मौसम शुरुभएसंगै दुषित पानीबाट फैलने महामारीजन्य रोगबाट बच्न सावधानी अपनाउनुुपर्ने बताउनुभयो । यस्तै डा. मेगना नेपालले लामुखुट्टेको टोकाईबाट सर्न सक्ने रोग , लक्षण र यसबाट बच्न सक्ने उपायका बारेमा जानकारी गराउनुभयो ।