२०८१ माघ ६ गते आइतवार

प्रधानमन्त्री प्रचण्ड आज दाङ आउँदै

दाङ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङको बेलझुण्डीमा आउनु हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरबाट आज बिहान साढे ९ बजे बेलझुण्डी आइपुग्नु हुने निजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न दाङ आउन लाग्नुभएको हो । बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोहको आयोजना गरिएको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको उपकुलपति प्रा.डा. लामिछानेले बताउनुभयो । १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह आज हुन लागेको हो । समारोह विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा हुँदै छ ।

शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित हुने परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले जानकारी दिनुभयो ।

उहाका अनुसार बिहान साढे ११ बजेदेखि सुरु हुने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस