दाङ, २८ जेठ । अत्यधिक गर्मीका कारण दाङसहित तराईको जनजीवन अस्तव्यस्त छ । गर्मीकै कारण कैयौं विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
असार महिना आउन लाग्दासमेत पानी नपरेपछि देशभरीकै तापक्रम बढेको हो ।
पानी नपरेकै कारण किसानको खेती खेतबारीमै सुक्न थालेका छन् ।
मौसमविद् रोजन लामिछानले तापक्रम घट्ने क्रम पूर्वी भूभागहरूबाट सुरू भइसकेको बताउनुभयो ।
पूर्वी भूभागका पानी नपरेका स्थानहरूमा मौसममा आंशिक बदली भएको छ । तापक्रम हिजो अस्तिको तुलनामा आज पनि तापक्रम केही घट्ने मौसमविद लामिछानेले बताउनुभयो ।
अब मनसुन भित्रने समय भएकाले पनि तापक्रम क्रमश घट्ने उहाँले बताउनुभयो । जुन ८ गते भारतको केरला पुगेको मनसुन अहिले आसाम मेघालय र बंगलादेशको भूभागहरूमा पुगेको छ ।
नेपालमा पनि मनसुन भित्रन वातावरण अनुकूल बन्दै गइरहेको मौसमविद् लामिछानेको भनाइ छ । पश्चिम तराईका भूभागहरूमा भने तत्काल तापक्रम घट्ने सम्भावना नरहेको लामिछानेले बताउनुभयो । उहाँका अनुसार केही दिन तापक्रम यथावत् रहनेछ ।
मनसुन भित्रिएपछि क्रमश तापक्रम घट्दै जाने उहाँले बताउनुभयो ।
मधेश प्रदेशको पश्चिमी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागहरूमा तातो हावा चल्ने सम्भावना कायमै रहेको पनि उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ २४ गते तातो हावासम्बन्धी पाँच दिने बुलेटिन जारी गरेको थियो त्यसको अवधि पनि आज सकिएको र तातो हावा चल्ने र लु लाग्ने सम्भावना कायमै रहेको अवस्थामा महाशाखाले भोलिसम्म अर्को बुलेटिन निकाल्ने मौसमविद् लामिछानेले बताउनुभयो ।