२०८१ असोज १८ गते शुक्रवार

लुम्बिनीले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने

दाङ, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएकोे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बजे पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

। ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश नीति सरकार’ भन्ने नारासहित विगतका केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही नयाँ कार्यक्रम थप्ने तयारी प्रदेश सरकारले गरेको छ ।

सरकारले स्थानीय उत्पादनलाई जोड दिदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट गरिएको जानकारी दिनुभयो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तथा कार्यक्रमलाई पारित गरेको हो ।

सरकारले चलाएको बहुवर्षीय आयोजनालाई निरन्तरता दिने र अतिआवश्यक नयाँ योजना बनाउनुपर्ने, मर्मत सम्भार गर्नुपर्नेलाई पनि समेट्ने छ । यस्तै पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोडने गरी कार्यक्रम ल्याउने योजना रहेको छ ।

घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ । यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपटक अघि नसार्ने तर प्रत्यक्ष लाभ प्राप्त हुने योजना अघि सारिने भएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बजेटको सीमालाई ख्याल गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो ।

पर्यटनको लागि ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा बजेट केन्द्रित हुनेछ । साथै, प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने शिक्षाको विकासको लागि विशेष काम गर्ने नीति रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस