२०८१ असोज ४ गते शुक्रवार

कपुरकोटमा जनप्रतिनिधिको एक वर्ष पुरा : बालविवाह न्युनिकरणदेखि विद्युतिकरण मूख्य उपलब्धि

सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकामा दास्रो कार्यकालका लागि गतवर्ष बैशाखमा निर्वाचित जनप्रतिनिधिले एक वर्षको अवधिमा गरेका मूख्य उपलब्धि सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले मूख्य उपलब्धिमा अध्याँरोमुक्त पालिकाका लागि विद्युतिकरणको योजनादेखि बालविवाह न्युनिकरणलाई उपलब्धिको रुपमा लिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाका ६ वटै वडामा विद्युत नपुगेका वस्तीमा करिब दुई वर्षभित्र विद्युत विस्तार गर्ने योजना अनुरुप काम अघि बढेको उहाँले बताउनुभयो ।


गाउँपालिकामा विद्युतिकरणका लागि चालुवर्षमा नेपाल विद्युत प्राधिकरणसंग सात करोड बराबरको विद्युतिकरण कार्यक्रम सम्झौता गरेको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

सोमबार एक वर्षे उपलब्धि सार्वजनिक गर्दै अध्यक्ष पुनले कपुरकोट गाउँपालिकालाई पाँच वर्षभित्रमा समृद्ध बनाउनका लागि बालविवाह न्युनिकरणको अभियानदेखि कपुरकोटको तरकारीलाई ब्राण्डीङ गर्ने योजनालाई अघि सारिएको बताउनुभयो ।

विवाह गर्दा वडाको सिफारिस लिनुपर्ने व्यवस्था गर्ने कपुरकोट गाउँपालिका पहिलो पालिका बनेको अध्यक्ष पुनले बताउनुभयो । यस्तै कपुरकोटको तरकारीलाई हरेक भान्सामा लैजानका लागि १२ बुँदे घोषणा पत्र जारी गरिएको, एक वर्षे मूख्य उपलब्धिमा गाउँपालिकाका सबै स्वास्थ्यसंस्थाबाट सार्वजनिक विदाका दिनमा पनि उपचार पाउने व्यवस्था गरेको, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्ने गरेको र सामान्य औषधिको व्यवस्था गरेको, सुत्केरी हुने आमालाई सहजताका लागि सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरेको, पालिकाभित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको अध्यक्ष पुनले बताउनुभयो ।

एकिकृत योजनाको अवधारणलाई साकार पार्न टुक्रे योजना ५० प्रतिशत कम गरेको, योजना सम्झौता र बैंकिङ खाता संचालन वडाबाटै हुने गरेको, भुक्तानी प्रक्रियामा सबै पक्षलाई जिम्मेवार बनाउन योजना सम्पन्न भएपश्चात् भुक्तानी हुनुपूर्व सात दिनभित्र दावि विरोधका लागि सार्वजनिक सुचना जारी गर्ने गरिएको उहाँले बताउनुभयो ।

राजश्व र योजना व्यवस्थापन अनलाईनबाट शुरु गरिएकोलाई मूख्य उपलब्धिको रुपमा लिईएको छ । यस्तै कर्मचारी पदपुर्ती गर्दा योग्यता र क्षमताको आधारमा प्रतिष्पर्धा गर्न सक्ने वातवरण सिर्जना गरी लोक सेवा र शिक्षक सेवा आयोगकको परिक्षा प्रणाली लागु गरी स्वच्छ र निष्पक्षरुपमा कर्मचारी छनौट गर्ने गरेको, गाउँ प्रहरी ऐन जारी गरी प्रहरी सेवा गठन गरी सुरक्षा, विपद व्यवस्थापन र राजश्व संकलनमा परिचालन गरिएको, शैक्षिक सुधारका लागि पञ्चवर्षिय गाउँ शिक्षा योजना र शैक्षिक पश्र्वचित्र योजना निर्माण गरिएको, कक्षा १ देखि ८ सम्म हाम्रो कपु्रकोट नामक स्थानीय पाठ्यक्रम लागु गरिएको, पालिकाभित्र दक्ष जनशक्ति उत्पादन र प्रतिष्पर्धि जनशक्तिका लागि निशुल्क लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको अध्यक्ष पुनले बताउनुभयो ।

यस्तै गाउँपालिकाको पाँच वर्षे आवधिक योजनाको निर्माण र मध्यावधि खर्च संरचना निर्माण अन्तिम चरणमा रहेको, गाउँपालिकामा चालु आर्थिकवर्षमा १८ वटा नयाँ ऐन/कानुन तयार गरी कार्यान्वयनमा आएको, पूर्वाधारका योजना चालुवर्षमा ८२ दशमलव २० प्रतिशत काम भएको उपलब्धिको रुपमा सार्वजनिक गरिएको छ ।

यस्तै ११८वटा सम्झौता भएको, ९७ वटा सम्पन्न भएको र २१ वटा सम्पन्न हुने चरणमा रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रकाश भण्डारीले न्यायिक समिति परेका मुद्धालाई दुवै पक्षलाई जितको महशुस हुने गरी जतिसक्दो छिटो टुंग्याउने गरेको बताउनुभयो ।

‘न्यायिक समितिको क्षेत्राअधिकारभित्र पर्ने बाहेकका मुद्धा पनि आउछन्, तर हामीलाई त्यस्ता मुद्धा हेर्ने अधिकार नभएकाले सम्बन्धित निकायको बारेमा जानकारी गराई पठाउने गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘नागरिकको चाहना अनुसार न्यायिक समितिबाट कार्यसम्पादन हुने गरेको छ ।’

गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले गाउँपालिकाको कार्यालयबाट योजना सम्झौता गरिरहेको भएतापनि भएतापनि जनप्रतिनिधिको चाहना र नागरिकको सुविधाका लागि गाउँपालिकाले पहिलोपटक वडास्तरमै गएर योजना सम्झौता गरिएको बताउनुभयो । उहाँले वडास्तरबाटै योजना सम्झौता हुन थालेपछि नागरिकलाई गाउँपालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस