२०८१ जेष्ठ ५ गते शनिवार

हाकिमको छोरा !

पढाइ सकेपछिको उमेर भनेको लगभग त्यही २२/२३ त भइ नै हाल्छ त्यही पनि अहिलेको जमानामा त बिहे पनि पहिल्यैको जस्तो कलिलै उमेरमा गरिदिन छोडिसके। मानिसहरूको विचार केही हदसम्म त परिवर्तन भएको छ जस्तो  लाग्छ मलाई।

मेरै घरको उदाहरण लिँदा।

मेरी आमा को बिहे जम्मा १७ वर्षको उमेरमा भएको रे त्यो बेलामा पनि छरछिमेकी र आफन्तहरू कुरा काट्न थालिसकेका थिए रे अब यसको बिहे हुँदैन, १७ पुगिसकी कोही माग्न आको छैन अहिलेसम्म भनेर।

तर मेरी आमा भन्नुहुन्छ- हेर छोरी मेरोजस्तो जमाना छैन अहिले, मैले त बाख्रा वस्तु हेर्न जाँदा तल खोलाको बालुवामा क ख लेख्न सिकेकी थिएँ। विद्यालयहरू नै थिएनन् गाउँमा। त्याँ माथि छोरीलाई पढाउनु भनेको पैसा खोलामा बगाउनुसरह हो भन्ने गर्थे भोलि बिहे गरेर अर्काको घरमा जानेलाई किन पढाउनु पर्यो भन्थे। मन लाग्दा पनि पढ्न पाइँदैन थियो अहिलेका छोरीहरू मौका पाउँदा पनि पढ्दैनन् बिहे गर्न हतार हुन्छ तर तैंले चाहिँ पढाइ सकेपछि आफ्नै कमाइ गर्न थालेपछि मात्रै गर्नू नत्र मैलेजस्तो दु:ख पाउछेस्।

सासूका, नन्द, आमाजू, पति सबैका खुट्टा मिचेपछि, ढिकी जाँतो गर्यो अनि बल्ल सुत्न पाइन्थ्यो, बिहान राति नै उठ्यो। गाई वस्तुलाई घाँस काट्न भिरमा गयो, आएपछि खाना पकाएर सबैलाई खुवायो। सबैका जुठा भाडा माज्यो अनि बल्ल आफ्नो खाने पालो आइथ्यो। त्यसपछि दिनभरि खेतबारीको काम, एकछिन सास फेर्न पाइन्नथ्यो एकैछिन आराम गर्नुपर्यो भनेर बस्यो सासूआमा कराउन थाल्नुहुन्थ्यो दिनभरि खुट्टा तन्कायो बस्यो, काम बितिसक्यो भनेर।

मेरो त जिन्दगी यसरी कामै गरेर गयो, अब तैंले राम्रो  पढेर सुख दिन्छेस कि!’ 

निकै भरोसा छ आमाको ममा। त्यसैले पनि होला मेरो मन अरू कुरामा जानै चाहेन। पढाइ सक्नु थियो, जागिर खाएर आमाले रमाउने उमेरमा दबाएर राखेका  चहानाहरू कुनै न कुनै रूपमा पूरा गरिदिनु जो थियो मलाई। 

आमाका त्यो बेला मेलापात र गोबर सोर्दा  लगाउने चप्पल नभएर फुटेका खुट्टा अहिलेसम्म निको नभएको देख्दा नै म अनुमान लगाउन सक्छु कति दु:ख थियो होला भनेर, आमालाई। 

केही कुराको पनि अभाव हुन दिने छैन म। मनमा यही अठोट लिएर बसेकी थिएँ। त्यही भएर पनि होला पढाइमा निक्कै अब्बल थिएँ म। 

सानै उमेरदेखि नै बाबाको माया ममताबाट बन्चित हुनु पर्दाको पीडा पनि त मनमा थियो नि। 

यत्रो सहास बटुलेर दु:खसँग हातेमालो गर्दै मलाई पढाउनु भएकी मेरी आमाको खुसीका लागि म जे गर्न पनि तयार हुनुपर्छ हैन र?

यस्तै दु:खहरूको सगरमाथालाई पाउमा राखेर अगाडि बढ्दा बढ्दै पढाइ सकेको पनि एक वर्ष भएछ। पढाइ सकेपछि जागिरको पहिलो तलब मैले एक रुपैयाँ नराखी आमालाई दिएकी छु।

खुसीले रूनु भएको थियो मेरी आमा।

गैरसरकारी संस्थामा डिस्ट्रिक कोअर्डिनेटरको पद पाएकी थिएँ। यतिधेरै जिम्मेवारीलाई काँधमा राखेकी छु र निभाउन पनि उतिकै सिपालु भैसकेकी छु। 

जिल्ला जिल्लामा विभिन्न कार्यक्रमहरू लिएर जाँदा मसँगै हाकिमको छोरा पनि सँगै जान्थ्यो। ऊ पनि मेरै पदको समान थियो तर हाकिमले मलाई नै बढी जिम्मेवारी दिनुभएको थियो।

पहिले पहिले त कामको मात्रै कुराहरू बढी हुँदा अरू कुराको ख्याल नै लाग्दैन थियो तर आजकल मैले उसको हरेक कुराको ख्याल गरिरहेकी हुन्छु नजानिँदो पाराले। 

काम गरेको एक वर्ष बितिसकेको थियो तर मैले उसको गालामा डिम्पल छ भन्ने कुरा पनि याद गरेकी रैनछु।

मान्छे त ऊ सामान्य नै हो तर जब हाँस्दा देखिने उसका दुबै गालाका ती डिम्पलले उसको अनुहारमा चमक छरिदिन्थ्यो। खासै अग्लो पनि हैन, गहुँगोरो पनि थिएन, अहिले मान्छेले भन्छन् नि ‘चकलेटी’ भनेर हो त्यस्तै थियो ऊ।

न त गोरो न त कालो। देब्रे हातमा घडी अनि बाला सधैं लगाउथ्यो। चिटिक्क लुगा लगाउन जानेको, तपाईंले याद गर्नु भएको छ कैले?

तर मान्छे त्यति राम्रो नभए पनि मिलाएर लुगा लगाउन जान्यो त्यो मान्छे त्यसै राम्रो लाग्छ नि मैले पनि भर्खरै रामलाई नोटिस गर्न थालेपछि थाहा पाएँ।

राम उसैको नाम थियो हाकिमको छोराको। पहिला पहिला ऊसँग कामको सिलसिलामा कतै जान नपरे हुन्थ्योजस्तो लाग्थ्यो तर आजकल रमाउन थालेछु। आमालाई भन्यो भने त जिस्क्याएर हैरान बनाउनु हुन्थ्यो अब ठूली भैछस् भन्नु हुन्छ। हाकिमको छोरा एटिच्युड देखाउँछ होला भन्ने लागेरै हो पहिले बोल्न मन नलाग्ने तर राम एकदमै सामान्य थियो हाकिमको छोरा हैन कर्मचारी नै जस्तो थियो।

सबैसँग राम्रो बोल्ने। त्याँमाथि मसँग अझ धेरै राम्रो बोल्छ जस्तो लाग्थो, धेरै मैसँग काम गर्ने भएर पनि होला।

सिधै बोल्ने, मनमा लागेको कुरा लुकाउनु हुन्न भन्थ्यो। कहिले कहिले मैले केही भनिनँ भने जिद्दी गरेरै भनाएरै छोड्थ्यो अनि भनेपछि गालाभरी डिम्पल दबाएर हाँस्थ्यो। त्यै हाँसोमा मेरो मन बसेको थियो कति दिल खोलेर हाँस्छौ है राम (पहिले कामको सुरूमा ऊ हाकिमको छोरा भन्ने थाहा थिएन अनि सँगै काम गर्ने भएकोले सुरूमा नै तिमी भनेर बोलाएकी थिएँ मैले, त्यसपछि त तिमी भन्न सजिलो भएको थियो मलाई।) राम भन्छ- दुई दिनको जिन्दगी कहिले मरिन्छ थाहा छैन, मनमा पिर लिएर के गर्नु सरला। 

‘मनदेखि नै खुसी हुन सिक्नु पर्छ नि होइन र?’ प्रश्न गर्छ ऊ। मान्छे जति सरल देखिन्छ, उसको मन पनि उतिकै सरल छ। एकदिन कुरै कुरामा भन्दै थिए- सुन न सरला तिमी र म त श्रीमान श्रीमतीजस्तै लाग्छ। कहिले कहिले दिनभरि सँगै होइन्छ कहिले कहिले कामकै कुराले झगडा पर्छ अनि एकछिनमा सहमति हुन्छ हैन? तिम्लाई त्यस्तो लाग्दैन? 

‘अ त नि है तर श्रीमान श्रीमतीको बीचमा यस्तै हुन्छ भन्ने तिम्लाई कसरी थाहा भो तिम्रो त बिहे भाको छैन भन्या हैन र’ अलि कति ठिस्सिएको पारामै सोधें।

‘मम, ड्याडको देख्दा देख्दै मलाई तिमी र मेरो झझल्को आउँछ के’ दुबै जना हाँस्यौं।

मेरो बारेमा चियो चर्चो त ऊ मैले उसलाई गरेभन्दा बढी गर्थ्यो। अफिस बिदा भएको दिन केही न केही कामको बहाना बनाएर फोन गर्थ्यो बुझ्नलाई म के गर्दैछु भनेर।

अफिस लागेका दिन पनि सधैं मेरो लागि पनि कफी लिएर आउँछ। म नि केही न केही बनाएर आफ्नो बहानामा उसैलाई बनाएर लैजान्छु। आफ्नो  लागि त अहिलेसम्म यति दु:ख गरेर केही पकाउँदिनथें। मेरो जाँगर देखेर आमा छक्क पर्नुहुन्छ कतै यो मेहनत हाकिमको छोरो पट्याउन त हैन? छड्के हान्नुहुन्छ म हाँसेर ‘ह्या आमा पनि भनेरै कुरा टारिदिन्छु’ तर  उसको मलाई साँच्चिकै माया लाग्छ। 

एक दिन कुरै कुरामा ऊ निकै भावुक भएको थियो। अनि आफ्नो विगतमा गयो।

‘ड्याड ममले पैसाको कहिले कमी हुन दिसेन। माया समय भनेकै मम ड्याडले दिने पैसा हो जस्तो लाग्थ्यो किनकि मम ड्याड सधैं व्यस्त समय दिन सकिसिन्नथ्यो। अनि जहिले नि पैसा दिसिन्थ्यो।  त्यसपछि त सबैथोक नै पैसा रहेछ जस्तो लाग्थ्यो अरूको मम ड्याडले छोरा छोरी डोर्याएर हिँडेको देेख्दा डाह लाग्यो। मलाई चाहिँ किन माया गर्नु हुन्न जस्तो लाग्दालाग्दै कुलतमा फसेको थाहै भएनछ। करिब ५/६ वर्षमा त म पूरै नचिनिने भएको थिएँ। व्यस्त मम/ड्याडले कहिल्यै नोटिस गर्नु भएन। एकदिन म  बेहोस भएर ढलेछु। ड्रग्स खान नपाएर साथीले हस्पिटल लगेर गएछ।

पछि डाक्टरबाट थाहा पाएपछि मन ड्याड छाँगाबाट खसेजस्तो होइस्यो। त्यसपछि ममले अफिस नजाने निर्णय लिस्यो। ड्याडमात्र गइस्यो। ममले २४ घन्टा मलाई समय दिस्यो। म १ वर्ष रिह्याबमा बस्दा पूरै वर्ष हरेक दिन मम मसँगै बसेर बेलुकामात्रै घर फर्किसिन्थ्यो। त्यसपछि विस्तारै विस्तारै ममको मायाले म ४ वर्षपछि यो स्थितिमा हुनु ममको हात छ।

सानोमा आमा बाबाको माया पाएन भने त्यो बच्चा माया नपाएको झोंकमा जस्तो पाइला पनि चाल्दो रहेछ के। म यस्तो मान्छे हुन्छु भन्ने मैले एकरति पनि सोचेको थिएन। त्यही भएर पनि मैले भविष्यमा मेरा छोरा छोरीलाई अत्यन्तै माया गर्छु। उनीहरूको लागि समय छुट्याउछु मजस्तो एक्लो हुन दिन्न जस्तो लाग्छ’ भनेर विगत सम्झेर आँसु झारेको दिन मैले उसलाई अंगालो मारेर मेरो काँधमा रून दिएकी थिएँ। त्यो दिनदेखि त उसको असाध्यै माया लाग्न थालेको छ। 

मेरो पनि बाल्यकाल उसको जस्तो कुलतमा फस्ने त थिएन तर सुनाउनु भने जो कोहीको आँखाबाट आँसु झर्नेछ। 

बाबा बिनाको दु:खद् बाल्यकाल फाटेका चप्पल तीन ठाउँमा जोडेर स्कुल जाँदा साथीहरूले गरिब भनेर हाँसेका दिनहरू।

आमाले पाएका ती दु:खहरू  सम्झिँदा अझै रून मन लाग्छ। सानैदेखि धेरै धन कमाउने रहर मेरो यति गर्न मन छ कि पहिले हाम्रो दु:खमा ताली पड्काउनेहरूका कान पड्किने गरी कमाउन मन छ। अहिले त म आफ्नै कमाइले मेरा आमाका लागि जे पनि किनिदिन सक्ने भएकी छु।

म सफल भएकी छु मेरी आमा यही भन्नु हुन्छ।

‘तिम्रो पनि त कहानी होला भन न बाल्यकालको’ भन्छ राम।

‘मेरो त तिम्रो जस्तो धनी कहानी छैन। एकदमै लामो छ कुनै दिन भनौंला भनेर’ टारिदिएकी छु। 

कहिले कहिले राम खुसी भएको बेला जिस्क्याइदिन्छु र भन्छु- हेर राम म सानो हुँदा लाग्थ्यो यो राम, श्याम, हरि, यी यस्ता खालका नामहरू सबै गरिब नाम हुन जस्तो लाग्थ्यो। गाउँमा सबै गरिबका नामहरू नै यस्तै हुन्छन्।

धनीका नामहरू त सबै अंग्रेजी हुन्छन् जस्तो लाग्थ्यो। खित्का छोडेर हाँस्छ र भन्छ- तिम्लाई थाहा छ? तिम्रो यही बानी मलाई मन पर्छ। मनमा लागेको कुरा जे भए पनि भन्ने खासमा मेरो नाम त अर्कै हो तर जब म कुलतमा फसेको थाहा पाइसकेपछि  ममले मलाई माया गरेर दिएको नाम हो राम। तिमी मेरो राम हौ। तिमी कुलतमा यसरी  फस्न हुन्छ! जिन्दगीमा अझै धेरै कुरा गर्न बाँकी छ। अब तिमी पनि रामजस्तो बाठो भएर अफिस चलाउनु पर्छ भनेर राम नाम दिसेको। त्याँदेखि आफूलाई राम नै भन्न मन लाग्छ।

‘ओहो कति मिठो सम्झना स्वरूपको नाम रहेछ है ममले दिनुभएको’, मख्ख पारिदिए मैले पनि। 

‘थाहा छ सरला तिमी नहुँदा यो पूरै अफिस नै खल्लो लाग्छ। अरूलाई नलागे पनि मलाई त काम गर्नै मन लाग्दैन यति ख्याल ठट्टा गर्ने तिमीजस्तो को-वर्कर पाउनु त मेरो भाग्य। तिम्लाई पनि त्यस्तै हुन्छ कि?’ खुल्दुली राख्छ ऊ। 

म भने कुरा मोडेर उसको उत्तरै दिन्नँ…। तर भित्रभित्रै भने ‘अ मलाई पनि त्यस्तै हुन्छ नि तिम्लाई जति माया त म आफूलाई पनि गर्दिनँ तर तिमी बुझ्दैनौ बुध्धु भनिरहेकी थिएँ।

के साँच्चिकै मैलेजस्तो माया गर्छ होला त रामले पनि…? सोध्न मन लाग्छ कहिले त तर फेरि उसले साथीको रूपमा मात्रै लिएको रहेछ भने के गर्नु त्यही भएर भन्न डर लाग्छ। फेरि लाग्छ कतै उसले पनि भन्न नसकेर बसेको पो हो कि त्यही भएर बेला बेलै तिम्रो बिहे गर्ने उमेर त भयो त कहिले गर्नै जाला है जवानी बिहे नै नगरी, गाला चाउरी परेपछि फेरि माया गर्नै मान्छे नपाइएला है भनेर मन चोरी राखेको पो हो कि? भन्न त म पनि भनिदिन्छु खै अहिलेसम्म कोही भेटिएको छैन भेटियो भने सोच्नु पर्ला भनेर।

तर ऊ आँट नै गर्दैन अनि मलाई आँट गर्न डर लाग्छ।

-सम्झना उप्रेतीबाट

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस