दाङ, १८ बैशाख ।
सरिता थापा दैनिक ज्याला मजदुरी गर्छिन् । उमेरले ५२ वर्षिय थापाले दैनिक ५ सय रुपैँया कमाउँछिन् । घर बनाउनका लागि सहयोगीको रुपमा रहेर ज्याला मजदुरी गरिरहेकी थापालाई पछिल्लो समयकोको आम्दानीले घर खर्च चलाउनै मुस्कील पर्छ ।
महंगी आकासिदै जाँदा दैनिकरुपमा कमाउने ५ सय उनका लागि अपर्याप्त छ तर आम्दानीको लागि दैनिक ज्यालामजदुरी गर्नुको विकल्प छैन् । ‘खाने तेलको एकलिटरलाई ३ सय ४० रुपैँयामा किन्नुपर्छ, तर दैनिक ५ सयमात्रै छ ।’ उनले भनिन्-‘मैले दैनिक ५ सय कमाउन थालेको २ वर्ष अघिबाटै हो , उ बेलाको बजारमूल्य र अहिलकोमा धेरै फरक छ ।’
महंगी बढ्दै गएपछि पछिल्लो समयको दैनिकी निकै कष्टकर बन्दै गएको उनको तितो अनुभव छ । ‘छोरा छोरीको पढाई लेखाई खर्च कसरी जुटाउने हो ?’ उनले भनिन्-‘मैले कमाएको आम्दानीले दैनिक साँझ बिहानको छाक जुटाउन पनि मुस्कील पर्छ ।’
तुलसीपुर-१० का कृष्ण चौधरीले पनि घर बनाउने काम गर्छन् । उनी पनि पछिल्लो समय बढ्दै गएको महंगीले अहिले पाउँदै आएको परिश्रमिकमा सन्तोष छैनन् ।
उनले दैनिक ८ सयदेखि १ हजारसम्म आम्दानी गर्ने गरेपनि बढ्दै गएको महंगीले खान र बस्न पनि नपुग्ने बताए । ‘अहिलेको महंगी अनुसार केहि गरौँला भन्ने सम्भावना छैन् ।’ उनले भने-‘अहिलेको आम्दानी खान, लाउन ठिक्क छ ।’
आज १ मे । मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निणर्य गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो ।
विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दिन थालिएको हो ।