२०८१ फाल्गुन १ गते बिहिवार

तीन दिन गर्मी घट्ने अनुमान

दाङ, ६ बैशाख । दाङसहित तराईका जिल्लामा केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको तुलनामा कम हुने भएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ ।

केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ । खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो दाङको अधिकतम तापक्रम ३७ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस