२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङका किसानलाई चैते धान रोपाईको चटारो

घोराही, ५ बैशाख । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिव १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

चैते धानका लागि पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको घर्ती बताउनुहुन्छ । ‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुन्छ’, किसान घर्तीले भन्नुभयोे, ‘जस्ले गर्दा करिब २० वर्षदेखि निरन्तर हामीले चैते धान रोप्दै आएका छौँ ।’ चैते र बर्खे धान गरेर बर्षमा दुई बाली धान खेती गर्ने घर्तीले सुकाखोलाको जमिनमा बर्खे धानभन्दा चैते धान राम्रो उत्पादन हुने बताउनुहुन्छ ।

पहाडी क्षेत्रमा एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घर व्यवहार चलाउन समस्या हुने भएकाले आफुले चैते धान खेती गर्ने गरेको उहाँ बताउनुहुन्छ । ‘थोरै जमिन भएकाले उत्पादन कम हुन्छ ।

परिवारलाई बर्षभरी खान र घरका लागि आवश्यक कपडालगायतका सामग्री किन्नका लागि पनि कृषिमै भर पर्नुपर्छ’, उहाँले भन्नुभयोे, ‘कम जमिनमा धेरै आम्दानी लिनका लागि वर्षमा दुई पटक धान रोप्ने गर्छौं ।’ धानसँगै अन्य अन्नबाली पनि खेती गर्न सकिने भए पनि बादर, बँदेललगायतका जंगली जनावरले हुन नदिने भएकाले अधिकांश किसानले धान खेती नै गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

डोरबहादुर जस्तै गहतेरा निवासी गोपाल घर्तीमगरलाई पनि चैते धान रोप्न चटारो परेको छ । खेत जोत्ने, पानी मिलाउने, व्याड काट्नेदेखि धान रोप्न परिवारका सदस्यलाई भ्याएको छैन । उहाँले करिव पाँच कट्ठा खेतमा चैते धान रोप्न थालेको बताउनुभयो ।

घर परिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको श्रोत बन्ने भएपछि आफ्नो परिवारले पनि चैते धान खेती गर्ने गरेको घर्तीमगर बताउनुहुन्छ । चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेती यसवर्ष केही ढिलाई भएको बताउनुभयो ।

‘फागुनमा राखेको धानको व्याड हो । यो चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हो’, घर्तीले भन्नुभयोे, ‘नयाँ बर्षसँगै घरको कामले केही ढिलाई भएको थियो । आज धान रोपेर सक्ने तयारी छौं ।’ बेमौसमी खेतीका रुपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको उहाँ बताउनुहुन्छ ।

चैते धानबाट राम्रो आम्दानी हुने भए पनि वर्षाको समयमा धान भित्र्याउन समस्या हुने भएकाले पछिल्लो समय केही परिवारले धान खेती गर्न छोडेको उहाँ बताउनुहुन्छ । उहाँहरु मात्र नभएर हिउँदे बाली भित्र्याएर फुर्सदिलो बन्ने समयमा बंगलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका १ का सुकाखोलाका अधिकांश किसान चैते धान रोप्ने गरेका छन् । वर्षमा दुईबाली धान खेती गर्ने उनीहरु चैते धानबाट राम्रो आम्दानी लिने गरेको बताउनुहुन्छ ।

यद्यपि, यसबर्ष बिपी राजमाग निर्माणका क्रममा खसेको पहिरोले सिंचाइका लागि बनाइएको ठूलो कुलो पुर्दा सुकाखोलाको आधा जमिन बाँझो रहन पुगेको स्थानीय हेमकला घर्ती बताउनुहुन्छ । ‘सिंचाइका लागि बनाइएको ठूलो कुलो पहिरोले नपुरेको भए सुकाखोलामा अधिकांश किसानले आजभोलि धान र मकै रोप्ने थिए । तर यसबर्ष धेरै खेत बाँझै देखिन्छ’, उहाँले भन्नुभयो, ‘यसको मुख्य कारण गतबर्ष वर्षाको समयमा आएको पहिरोले सिंचाइ कुलो पुर्न नै हो ।’ ठूलो कुलो बन्द भए पनि सानो कुलोका माध्यमबाट किसानले धान खेती गरिरहेको उहाँ बताउनुहुन्छ ।

यसरी रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने गरेको किसानहरु बताउनुहुन्छ । वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो समेत गर्ने गरेको छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने रोप्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अुसार वर्षामा रोपेको धान बाली कात्तिकमा काटेर फेरि गहुँ वा मसुरो छर्ने गरेको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र, दाङका अनुसार जिल्लामा करिव दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको खबर गोरक्ष राष्ट्रिय दैनिकमा लिलाधर वलीले लेखेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस