२०८१ असोज ४ गते शुक्रवार

आर्थिक तरलताको प्रभाव : डेढ वर्षमा सात सय बढी व्यवसायी विस्थापित

दाङ, १८ चैत । बजारमा आर्थिक तरलताको प्रभाव देखिन थालेको छ । बैंकको ब्याजदरमा अस्वभाविक बृद्धि, बैंकबाट कर्जा प्रवाह नहुनु, महँगी बढ्नुजस्ता कारणले उद्योग, व्यवसाय संकटमा पर्न थालेको छ ।

आर्थिक चलायमान नहुँदा कतिपय उद्योगी, व्यवसायी विस्थापित भइसकेका छन् भने सञ्चालनमा रहेका उद्योग, व्यवसाय संकटमा पर्न थालेका छन् ।

व्यवसाय नचलेपछि सटर बिक्रीमा छ भन्दै सूचना टाँस गरिएको बजारको मूख्य चोकमै देखिन थालेको छ । तुलसीपुरको मुख्य सडक ‘क’ लाईनमै व्यवसायी चल्न नसकेपछि व्यवसायी संकटमा परेको तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले बताउनुभयो ।

‘बजारको मूख्य ठाउँमै व्यवसायी पलायन हुने अवस्था आएको छ’ उहाँले भन्नुभयो -‘५/६ वर्षअघि ‘क’ लाइनमा सटर खोज्दा पाईदैन थियो, तर अहिले सडक खाली छ भन्ने सूचना सर्वत्र देख्न पाईन्छ ।’

कारोबार हुन छाडेपछि अधिकांश व्यवसायीलाई अहिले सटरभाडा नै बुझाउन मुस्किल परेको उहाँले बताउनुभयो । कोरोना महामारी, राजनैतिक अस्थिरता लगायतका कारण आर्थिक तरलताको प्रभाव सतहमा देखिन थालेको तुलसीपुरका युवा व्यवसायी दुर्गा भुसालले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय घोराहीका अनुसार दाङमा बितेको डेढ वर्षको अवधिमा ७ सय ६३ उद्योगी, व्यवसायी विस्थापित भएका छन् । चालुवर्षको साउनदेखि माघ मसान्तसम्ममा ११८ उद्योग र २१८ व्यवसाय निस्क्रिय भएको कार्यालयका सूचना अधिकारी मिनराज पाण्डेले बताउनुभयो । गतवर्षको तुलनामा चालुवर्षको सात महिनामा धेरै उद्योग व्यवसाय निस्क्रिय भएका छन् ।

उद्योग तथा व्यवसाय निस्क्रिय गराउन आउने अधिकांशले वैदेशिक रोजगारीका लागि जान लागेको प्रतिक्रिया दिने गरेको कार्यालयका सुचना अधिकारी पाण्डेले बताउनुभयो । गतवर्षको तुलनामा चालुवर्षमा नयाँ उद्योग व्यवसाय थपिने क्रम पनि कम रहेको उहाँले बताउनुभयो ।

गतवर्षमा १ हजार ८ सय ३८ नयाँ उद्योग थपिएकोमा चालुवर्षको सात महिनामा ४ सय ८५ उद्योगमात्रै थपिएका छन् । यस्तै वाणिज्यतर्फ गतवर्ष १ हजार ५ सय २३ उद्योग थपिएकोमा यसवर्ष साउनदेखि माघ मसान्तसम्म ४ सय ८० मात्रै दर्ता भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस