दाङ, ३ चैत । दाङका पालिका सरकारले अर्गानिक नीति कार्यक्रममा जोड दिएपनि बजेट भने छुट्याइएका छैनन् । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रासायनिक विषादी घटाउने कार्यक्रमलाई प्राथमिकता दिएको थियो ।
रसायनहरूको प्रयोगबाट माटो तथा पानीमा परेको असर र अन्य वातावरणीय समस्यालाई घटाउने कुरा गरेको थियो । त्यसका लागि किसानलाई प्राविधिक ज्ञान दिई प्राङ्गारिक मल तथा प्राङ्गारिक विषादी प्रयोगमा जोड दिने समेत भनेको छ तर त्यसका लागि बजेट भने छुट्याको छैन ।
कार्यक्रममा कृषि अनुदानका लागि ९४ लाख ९० हजार बजेट छ । कृषि यान्त्रिकीकरण, बिउ वितरण, कृषकलाई खेतीमा सहायता गर्ने, कृषि एप बनाउने कार्यक्रम राखिएका छन् ।
हाटबजार, कृषक परिचयपत्र वितरण गर्नका लागि पालिकाको एक करोड १२ लाख ४० हजार र संघ सरकारबाट ७१ लाख अनुदान गरी एक करोड ८३ लाख ४० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । तर रासायनिक विषादी न्यूनीकरण कार्यक्रमका लागि भनेर प्रष्ट बजेट उल्लेख छैन ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अर्गानिक उत्पादनलाई प्राथमिकता राखेको बताउनुभयो । व्यावसायिक तरकारी खेती हुने क्षेत्रमा जोखिम बढी छ । अहिले यस बिषयमा नगरले केही काम गरेको छैन् । तर छिट्टै अर्गानिक उत्पादनमा जोड दिइने चौधरीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । तर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले अहिले अर्गानिक उत्पादनको कार्यक्रम नभएको बताउनुभयो ।
अहिले तुलसीपुरमा जैविक मल बनाउने योजना छ । तर प्रष्ट रूपमा देखिने कार्यक्रम छैनन् । आउने बर्षहरूमा नीति कार्यक्रममा समाबेश गर्ने र बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।
लमही नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा कृषिलाई प्राथमिकता दिदै २ करोड बजेट विनियोजन गरेको छ । बगरखेती कार्यक्रम, कृषि औजार तथा उपकरण वितरण र विकासका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो ।
नीति कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन, गुणस्तरीय प्राङ्गारिक मल उत्पादन कार्यक्रमलाई जोड दिइने उल्लेख थियो । गल्ने फोहोर र जैविक बस्तु प्रयोग गरि कम्पोष्ट मलको उत्पादन गरि विक्रि वितरणको व्यवस्था मिलाइने भनिएको थियो ।
तर यि बिषयमा बजेट विनियोजन गरिएको छैन् । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले अहिले यि कार्यक्रमहरू पालिकामा नभएको बताउनुभयो । राप्ती गाउँपालिका बाली तथा तरकारी उत्पादनको हिसाबले उर्वर ठाउँ हो ।
आर्थिक वर्ष २०७९/०८० नीति कार्यक्रममा प्राङ्गारिक खेतीसँगै खेर गइरहेको जग्गाको सदुपयोग गरी कृषि क्षेत्रको विस्तार गरिने, अर्गानिक खेतीमा जोड दिइ विषादीमुक्त क्षेत्र बनाइने योजना समावेश छ ।
चालु आर्थिक वर्षमा कृषिका लागि १ करोड ६६ लाख ७० हजार बजेट व्यवस्था गरिएको छ तर नीति कार्यक्रममा समावेश गरिएअनुसार अर्गानिक उत्पादनको लागि बजेटको व्यवस्था गरेको छैन् । प्राङ्गारिकखेती कार्यक्रमलाई नीति कार्यक्रममा मात्र सीमित बनाएको छ ।
कृषकमा चेतना जगाउने, खेतीका लागि सहयोग गर्ने, वाली निरीक्षण गर्ने, अनुदान दिने कार्यक्रमलाई जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यावसायिक तरकारी उत्पादन क्षेत्रमा धेरै विषादी प्रयोग हुने बताउनुभयो ।