
तुलसीपुर, २६ फागुन । पहेँलो फुलेको तोरी । तोरी बारीको छेउमा सेतै मौरीका घार छन् । मौरीको भुनभुन आवाजसंगै मह निकाल्नै व्यस्त छन् नारायण पौडेल र उहाँको परिवार ।

तुलसीपुर-७ मोतिपुर निवासी पौडेल परिवार नै व्यवसायीकरुपमा मौरीपालनमा व्यस्त छ । पौडेलका माहुरी अहिले तुलसीपुर-१९ बिजौरीमा चरणका लागि छन् । ‘ अहिले तोरी फूलेको समय भएकाले पनि अहिले मह निकाल्न भ्याई नभ्याई छ ।’ नारायणले भन्नुभयो-‘तोरी फुलेको बेलामा १५/२० दिनभित्र मह निकाल्न सकिन्छ ।’
२०६० सालदेखि मौरीपालन व्यवसाय शुरु गरिरहेका पौडेलसंग अहिले मौरीका २५० घार छन् । शुरुवातमा पाँच घारबाट माहुरी पालन व्यवसाय शुरुवात गरेका पौडेल संग पछिल्लो समय ठुलो संख्यामा माहुरीका घार छन् ।

‘अहिले म संग २५० मौरीका घार छन्, शुरुवामा पाँच घारबाट मौरी पालन शुरुवात गरेको हुँ ।’ उहाँले भन्नुभयो-‘अहिले यसैबाट आफुसंगै अरुलाई पनि रोजगारी दिन सकेको छु ।’
पौडेलको योजना यसैवर्षभित्र माहुरीका घार ३ सय बनाउने छ । शुरुमा प्रतिघार ४ हजार ५ सय लगानी गरेर पाँच घारबाट मौरीपालन व्यवसाय शुरुवात गरेका पौडेलालाई निकै चुनौति भयो तर पछिल्लो समय मौरीका घार बढेपछि व्यवसाय चलाउन सहज भएको अनुभव उहाँ बताउनुहुन्छ ।
‘कम्तिमा ५० घारबाट मौरीपालन व्यवसाय शुरुवात गरेपछि सहज हुँदोरहेछ ।’ उहाँले भन्नुभयो -‘मैले पाँच घारबाट शुरुवात गरेको बढाउन समय लाग्यो, त्यसपछि फेरि थप ४० घार मौरी किनेर व्यवसायीकरुपमा मौरी पालन व्यवसाय गरेको हुँ ।’ उहाँले वार्षिक करिब ६० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार प्रति क्विन्टल ३० हजारमा बिक्रि गर्दा वार्षिकरुपमा १८ लाख आम्दानी हुने गरेको छ । महको बजारीकरण सहज नभएको उहाँले बताउनुभयो ।
कुनै समय प्रतिकिलो ४५० मा बिक्रि हुने मह अहिले सरदर ४ सयमा प्रतिकेजी बिक्रि सहजै हुँदैन् । भारतीय महको आयातका कारण पनि नेपाली मह बजारीकरणमा समस्या भएको उहाँले दुखेसो पोख्नुभयो । ‘भारतबाट नक्कली मह बजारमा छ्यापछ्याप्ती पाईन्छ ।’ उहाँले भन्नुभयोे-‘यसकारण पनि नेपाली महको मार्केट बिगे्रको छ ।’ उहाँले गतवर्षको महसमेत भण्डारण गरेर राखेको बताउनुभयो ।
‘मह भण्डारण गरेर राख्दा बिग्रिदैन् ।’ उहाँले भन्नुभयो -‘म संग गतवर्षको करिब १ क्विन्टल मह छ ।’ महको बजारीकरणका लागि नेपाली महको प्रचारप्रसार पनि हुन नसकेको उहाँले बताउनुभयो ।

नेपाली महको गुणस्तर राम्रो भएपनि आयातित मह नामलेमात्रै पनि बिक्रि भएको उहाँको गुनासो छ । ‘नेपाली महको गुणस्तर अरु आयातीत महभन्दा धेरै छ ।’ उहाँले भन्नुभयोे -‘तर बजारमा बाहिरको महले बर्चश्व कायम गरेको छ ।’ माहुरी पालनबाट घरको तीन जनासंगै अरुलाई पनि रोजगारी दिन सफल भएको उनी उहाँ बताउनुहुन्छ । ‘मह निकाल्नका लागि दैनिक ७/८ जना जनशक्ति लाग्ने गरका छन् ।’ उहाँले भन्नुभयोे-‘मेरो फर्ममा दैनिक ज्यालादारी भएपनि वार्षिक करिब ३ सय जनाले रोजगारी पाउने गरेका छन् ।’
मह निकालेर प्रशोधन गर्न जनशक्ति धेरै लाग्ने गरेको उहाँले बताउनुभयो । ‘अरु समयमा जनशक्ति थोरै भएपनि हुन्छ, मह निकाल्दा जनशक्ति धेरै लाग्छ ।’ उहाँले भन्नुभयो -‘यसबाटै भएपनि रोजगारी दिन सफल भएको छु ।’ उहाँका छोरा शरद बिएसी एग्रिकल्चर अध्ययन पुरा गरेर माहुरी व्यवसायमा हुनुहुन्छ ।

‘घरमा माहुरी छ, यसलाई अझै व्यवसायीकरुपले अगाडी बढाउन अध्ययन पनि गरेको छु ।’ उहाँले भन्नुभयो -‘अहिले काठ्माण्डौमा पढाईसंगै महको बजारीकरण पनि गरिरहेको छु, घरमा आएको बेलामा माहुरी चराउनेदेखि मह काड्ने सबै काम गर्छु ।’ कात्तिक र मंसिरमा दाङ मौरी चरणका लागि उत्तम भएपनि अन्य समयमा जिल्ला बाहिर मौरी चरणका लागि लैजाने गरिएको उहाँले बताउनुभयो ।