२०८१ असोज ४ गते शुक्रवार

आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईदै

दाङ, २४ फागुन । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर एकसाथ मनाईदै छ । नेपालमा पनि आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिल दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिएको हो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ । मन्त्रालयले संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ ।

महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन मन्त्रालयले भनेको छ । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा तुलसीपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले नगरको सभाहल र तुलसीपुर-७ को सहयोगमा हाम्रो पहुँच बहुउद्देश्यी सहकारी संस्था लिमिटेडसहितका विभिन्न सहकारीले वडा नम्बर ७ को खर्चवामा दिवसको अवसरमा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस