दाङ, ८ फागुन ।
कृषि उत्पादनका लागि उर्वर मानिने दाङको माटो पछिल्लो समय बिग्रदै जान थालेको छ । दाङको माटोमा अम्लीय र क्षारिय पदार्थ बढ्दै गएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञानकेन्द्रले सञ्चालन गरेको माटो परीक्षण प्रयोगशालाको रिपोर्टले दाङको माटो बिग्रदै गएको देखाएको हो ।
खेतीको लागि माटोको पिएच मान ६ दशमलव ५ देखि ७ दशमलव ५ को बीचमा हुनुपर्छ । दाङमा त्यो मान घटबढ भएको माटो परीक्षण प्रयोगशाला दाङमा कार्यरत देवा महराले बताउनुभयो । उहाँका अनुसार दाङको माटोमा अम्लीय र क्षारियमात्रा अत्यधिक देखिएको छ ।
२०७९ वैशाखदेखि फागुन ५ गतेसम्म गरिएको एक सय ३८ वटा परीक्षणमा नाइट्रोजनको मात्रा केही राम्रो देखिएको भए पनि फस्फोरस र पोटासको मात्रा भने निकै कम पाइएको छ । जिल्लाका विभिन्न पालिकाबाट आएको माटो परीक्षणमा पोटास र फस्फोरसको मात्रा कम देखिएको छ ।
८४ नमूनामा पोटास कम देखिएको छ भने ९५ नमूनामा फस्फोरस कम देखिएको छ । एक सय ३८ परीक्षणमा ५५ नमूनामा नाइट्रोजन कम र ३१ नमूनामा नाइट्रोजन बढी देखिएको छ । युरिया मलको सन्तुलित प्रयोग नहुँदा नाइट्रोजन बढी देखिएको हुन सक्ने विज्ञहरुको भनाइ छ ।
दाङको दुई लाख ९५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा कुल खेतीयोग्य जमिन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ । जसमा ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमा ९७ हजार तीन सय एक जना किसानले खेती गर्दै आएका छन् ।
दाङका सबै पालिकासहित रोल्पा र प्युठानबाट पनि अहिले किसान माटो परीक्षण गर्न दाङ आउने गरेका छन् । दाङमा वर्षभरि खान पुग्ने ६८ हजार नौ सय ७२ र वर्षैभरि खान नपुग्ने २८ हजार पाँच सय नौ जना रहेका छन् ।