२०८१ माघ २ गते बुधवार

सल्यानका कृषक किवी खेतीमा आर्कषित


सल्यान, २० पुस ।
सल्यानका कृषक किवी खेतीमा आर्कषित भएका छन् । उत्पादित किवी बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले खेती थप विस्तार गर्दै लगेका हुन् ।

थोरै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । छत्रेश्वरी गाउँपालिका बुराँसेका तेजबहादुर योगीले किवी खेतीबाटै वार्षिक ८ देखि १० लाख बचत गर्दै आएको बताउनुभयो ।

उहाँ सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुनुहुन्छ । उहाँले चार रोपनी जग्गमा यसको खेती गर्दै आउनुभएको छ । बुराँसेकै नन्दकला कुँवरले अहिले वार्षिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी हुने गरेको बताउनुभयो ।

व्यापारीले बारीबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गर्ने गरेको किसान चित्रबहादुर केसीले बताउनुभयो । सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पनि राम्रो पाइरहेको उहाँले बताउनुभयो ।

छत्रेश्वरी बाहेक त्रिवेणी र कपुरकोटका किसानले पनि व्यावसायिक किवी खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार जिल्लामा वार्षिक ७२ टन किवी उत्पादन हुन्छ ।

केही जिल्लाभित्रै खपत हुन्छ । अधिंकाश जिल्लाबाहिर निर्यात हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्राविधिक सहायक मुकुन्द शर्माले बताउनुभयो । सल्यानको हावापनी र भूगोल अनुकुल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।

किवी खेती प्रवर्धन गर्न चक्लाबन्दी कार्यक्रम अन्तर्गत अर्गानिक उत्पादनमा जोड दिइएको शर्माले बताउनुभयो । उत्पादन भएको किवी काठमाडौं, पोखरा, विराटनगर, धनगढी र बुटवललगायत ठूला शहरका साथै भारतमा समेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस