२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुर मेला : थपिदै रौनक, बढ्दै दर्शक

तुलसीपुर, १ असोज ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक मेलामा दिनदिनै रौनक बढ्दै गएको छ । मंगलबार (आज) पाँचौँ दिन पनि उल्लेख्य दर्शकका बिचमा मेला संचालन भएको आयोजकले जनाएको छ ।

मेलामा मंगलबार (आज) चर्चित गायिका एलिना चौहान, चर्चित गायक कृश क्षेत्र, लोक गायिका अणु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारले धमकेदार प्रस्तुती राखेका छन् । मेलामा अन्य दिनको तुलनामा आज उल्लेख्य दर्शकको सहभागीता रहेको थियो ।

असोज २८ गते शुक्रबारदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।

मेलामा बुधबार (भोलि) पनि चर्चित गायिक प्रिती आले लगायत राष्ट्रिय तथा स्थानीय कलाकार आउने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । मेलामा लोक नृत्य प्रतियोगिताको लागि अडिसन पनि संचालन भइरहेको छ ।

मंगलबार मेलामा लोक नृत्य अडिसनमा ५ जना छनौट भएका छन् । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको मेला कातिक ११ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ ।

‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन भएको मेलामा अहिले लोक नृत्य प्रतियोगिताका लागि अडिसन भइरहेको आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।

मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस