दाङ, १६ भदौ ।
तुलसीपुर-१५ का लेव बहादुर बिष्ट २०५९ साल भदौ २१ गते घरबाटै अपरहरणमा परे । गित गाउने कलाकार भएकै कारण सरकारी सेनाले उनलाई घरबाटै अपहरण गरेर वेपत्ता परेको थियो ।
२० वर्षदेखि वेपत्ता श्रीमानको पखाईमा श्रीमती ज्ञानकुमारी बिष्ट छिन् । समय बित्दै जाँदा उहाँलाई श्रीमान आउने आशा झिनो छ । वेपत्ता श्रीमानको पिडामा रहेकी ज्ञानकुमारीले अहिलेसम्म १० लाख बाहेक अरु केहि पाउन सकेकी छैनन् ।
‘नजिकै मलवार प्रहरी चौकी छ, प्रहरीलाई नै विभिन्न किसिमले सहयोग गरियो, तर पछि आएर राज्यपक्षबाटै मेरो श्रीमानलाई वेपत्ता पारियो ।’ उनले भनिन्-‘राज्यले १० लाख दिएको छ, मेरो श्रीमान बाँचेको भए, के २० वर्षमा १० लाखमात्रै कमाउनुहुन्थ्यो होला त ?’
श्रीमान वेपत्ता भएपछि निकै समस्या झेल्नुपरेको उनले दुखेसो पोखिन् ।
‘८४ वर्षका बुवाआमाको अगाडीबाट छोरोलाई अपहरण गरेर लगेपछि बुवा आमा पनि पिडै पिडामा बित्नुभयो ।’ उनले भनिन्-‘यस्तो पिडा कसैलाई पनि नपरोस् ।’
छोराछोरीलाई राज्यले कम्तिमा पनि रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ । ‘वेपत्ता भएका श्रीमान पाउन आश जीणर् बन्दै गएको छ ।’ उनले भनिन्-‘कम्तिमा पनि छोराछोरीको लागि उचित रोजगारीको व्यवस्था गरियोस् ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का लुमा गैरेको दुख पनि यस्तै छ । २० वर्ष भयो श्रीमानको न सास छ, न लास, जे भएपनि श्रीमान आउने आशमै अहिलेसम्म पर्खाइमै चलेको छ उनको जीवन । उनका श्रीमान खिमलाल गैर वेपत्ता भएको करिब दुई दशक बित्यो । जतिसमय बित्दै गएपनि परिवारलाई घरको अभिभावक आउँछन कि भन्ने लागिरहन्छ ।
विस २०५९ साल मंसिर ३ गते घरबाट छिमेकीको घरमा जाँदै गरेका गैरेलाई सरकारी सेनाले वेपत्ता पारेको थियो । तत्कालीन १० वर्षे शसस्त्र जनयुद्धको क्रममा वेपत्ता पारिएका गैरेलाई पाउने आशा परिवारमा झिनो बन्दै गएको छ । ‘सास पाउँछौँ भन्ने आशा कम हुँदै गएको छ ।’ उनले भनिन्-‘अब सरकारले नै परिवारलाई उचित व्यवस्था गरोस् ।’
दंगिशरण ३ रावतगाउँकी अनिता चौधरीलाई आफ्नी दिदी १७ बर्षकी हँुदा बेपत्ता भएको घटना झल्झल्ती मनमा आईरहन्छ ।
२१ वर्षअघि २०५८ सालमा वेपत्ता भएको दिदी अहिले पनि आउँछिन् कि भन्ने अनिताको मनमा लागिरहन्छ । ‘म १४ वर्षको हुँदा मेरो दिदीलाई सरकारी सेनाले अपहरण गरेको थियो ।’
उनले भनिन्-‘किन दिदी अपहरणमा परेको हो, मलाई केहि पनि थाहा छैन् , तर अहिले पनि कतैबाट फर्केर आउँछिन् जस्तो लागिरहन्छ ।’ तत्कालिन १० वर्षे जनयुद्धको क्रममा आफन्त बेपत्ता पारिएका लुमा,ज्ञानकुमारी र अनिता प्रतिनिधिमूलक पात्र मात्रै हुन् ।
तत्कालिन समयमा दाङबाटमात्रै ८१ महिला र पुरुष बेपत्ता पारिएको थियो । उनिहरुका आफन्तले अहिलेसम्म राज्यबाट १० लाख बाहेक अरु केहि पाएका छैनन् । वेपत्ताका परिवारले विभिन्न समयमा आफुहरुलाई सम्झाएर झनै पिडामा पार्ने गरेको गुनासो गरेका छन् ।
द्वन्द्वको समयमा घोराहीमा पढ्न गएको छोरा वेपत्ता भएपछि दुई दशकै छोराकै सम्झनामा पिडा खेप्न बाध्य भएपनि राज्यले केहि नगरेको दंगीशरण-४ मौलिका उपेन्द्रबहादुर डाँगीले बताए ।
‘छोरा भएको भए १० लाखमात्रै कमाउँथ्यो होला र? राज्यले हामीलाई १० लाख दिएर पंछिने गरेको छ ।’ उनले भने-‘छोराछोरी वा आफन्त गुमाएपछि कस्तो पिडा हुन्छ, राज्यले केहि गरेको छ र ? ‘पढन गएको छोरा अहिलेसम्म फर्किएन ।’
उनले भने-‘अब त बुढेशकालमा झनै बढी छोराको यादले सताउने गरेको छ ।’ तुलसीपुरका चन्दा योगी पनि आफ्नो छोरा घर फर्केर आउने आशामा बसेकी छन् । २०५९ सालमा घोराहीबाट बेपत्ता भएका आफ्ना छोराको बारेमा खोजी गरिदिन विभिन्न पक्षसँग आग्रह नगरेको पनि होईन ।
तर राज्य पक्षले हराएको गुनासो गरिन् । ‘सरकारले हामीलाई पैसा त दियो, तर छोरो दिन सक्छ ? उनले गुनासो गरिन्-‘राजनीतिक ठुलो परिवर्तन भयो, खै हामी आफन्त वेपत्ता भएकाले के पायौँ र ?