२०८१ असोज ४ गते शुक्रवार

सानै उमेरमै खेलक्षेत्रमा उदाएकी दाङको चेली निशा


दाङ, २० साउन ।
नेपाली खेलकुद क्षेत्रमा एक साता अघिदेखि चर्चामा आएको नाम हो निशा चौधरी । त्यसभन्दा अघि निशा नेपाली खेलकुद क्षेत्रमा गुमानाम थिइन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीका १७ वर्षीया निशाले गत सातामात्रै काठ्माण्डौमा भएको १२ औँ केन्द्रीयस्तरको रनिङ शिल्डमा लम्जम्पमा नयाँ कीर्तिमानी रचेकी छन् ।

राष्ट्रियस्तरको खेलमा पहिलोपटक सहभागी निशाले कीर्तिमानी बनाएपछि उनको नाम अहिले चर्चामा छ ।

निशाले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै २ व्यक्तिगत र एक टिम स्पर्धामा कीर्तिमान बनाएकी छन् । उनले छात्रा लङजम्पमा ५.४७ मिटर जम्प गर्दै कीर्तिमान बनाएकी हुुन् । उनले सन् २०१८ अप्रिल २३ मा शिला चौधरीले बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै उनले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । ४ गुणा १ सय मिटर रिलेमा निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारूसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तेकवान्दो खेलाडीसमेत रहेकी निशाले खेल जीवन थालेको ४ वर्षमै उनले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । १३ वर्षकोे उमेरमा दिपेन्द्र मावि मानपुरमा अध्ययनरत्त हुँदादेखि तेकवान्दो खेल खेल्न शुरु गरेकी निशाले बिना प्रशिक्षण राष्ट्रियस्तरको खेलमा कीर्तिमानी बनाएकी छन् ।


उनले सानै उमेरमा सफलता पाउँदा दंग छिन् । निशाले प्रतियोगिता सुरु हुँदासम्म कीर्तिमान आफ्नो नाममा लेखिन्छ भनेर ढुक्क थिइनन् । तर प्रतियोगितामा भाग लिएपछि आफुले कीर्तिमान बनाउँदा खेलक्षेत्रमा अघि बढ्ने हौसला मिलेको बताउँछिन् ।

‘खेलाडी बनेर अघि बढ्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’ उनले भनिन्–‘अब खेल प्रशिक्षण पनि लगत्तै लिदैछु ।’ विद्यालयबाट जिल्ला र प्रदेश छनोटमा परेर केन्द्रमै राष्ट्रिय कीर्तिमान बनाएपछि घर परिवारबाट पनि हौसला थपिएको उनको अनुभव छ ।

मध्यम वर्गिय परिवारमा हुर्केकी निशालाई आमा बुवाको पनि साथ राम्रो रहेको छ । ‘घर परिवारकै कारण म अघि बढ्न सफल भएको छु ।’ उनले भनिन्–‘बुवा रोजगारीको शिलशिलामा भारतमा हुनुहुन्छ , आमा घरकै काम गर्नुहुन्छ, तैपनि मलाई अघि बढ्न घर परिवारको निकै राम्रो साथ मिलेको छ ।’

उनको घर परिवारमा बुबाआमा, तीन दिदीबहिनी र एक भाइ छन् । उनको परिवारमा भाइ पनि विद्यालयबाटै फुटबल र एथलेटिक्स खेल्छन् । परिवारका आर्थिक अवस्था कमजोर भएपनि खेलक्षेत्रमा पाइला रोक्नुपर्ने अवस्था अहिलेसम्म नआएको उनको भोगाई छ । खेलकुदका लागि चाहिने सामाग्री आमाबुवासँग नै पैसा मागेर किन्ने गर्छिन् ।


आमाबुवाले आफूसँग नहुँदा पनि छिमेकीसँग सापट मागेर भए पनि दिने गरेको उनी बताउछिन् । निशा पनि पुरस्कारबाट आएको रकम परिवारलाई नै दिन्छिन् । आर्थिक अवस्था कमजोर भएपनि खेलकुद क्षेत्रमा पकड जमाउने उनको आशा छ । उनलाई दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीले प्रशिक्षण दिन्छिन् ।

उनी हरेक दिन बिहान एथलेटिक्स अभ्यास गर्छिन् । उनको घरबाट प्रशिक्षणस्थल पुग्न धेरै समय लाग्छ । गाउँबाट शहरसम्म प्रशिक्षणमा आउन टाढा हुनाले उनी सेल्फ ट्रेनिङमा जोड दिन्छिन् । अहिले पनि तेक्वान्दोको प्रशिक्षणलाई निरन्तरता दिइरहेकी निशा अब भने एथलेटिक्सलाई मात्रै अगाडि बढाउने योजनामा छिन् ।

खेलक्षेत्रमा ठुलो सपना अझै नबनाएपनि राष्ट्रियस्तरमा खेलाडीको पहिचान बनाउने उनको सपना छ । उनी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीमा पनि छन् । नवौँ राष्ट्रिय खेलकुदमा पनि एथलेटिक्सबाटै खेल्ने मनसायमा रहेको हुँदा लगत्तै प्रशिक्षण लिने बताईन् ।

‘अब पद्मा गुरुले बोलाएपछि प्रशिक्षण जान्छु होला’, उनले भनिन्, ‘घरमा कोशिस गर्ने र गुरुले सिकाउने ठाउँमा पनि जाने हो ।’ १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो । यद्यपी राष्ट्रिस्तरमा पहिलो पटक सहभागीता जनाएको उनले बताईन् ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस