दाङ, ३० असार ।
अर्जुन विक जनमुक्ति सेना थिए । दलित समुदायमाथि हुने छुवाछुत तथा अन्यायविरुद्धमा उनि तत्कालीन समयमा नेकपा माओवादीले थालेको १० वर्षे जनयुद्धमा होमिए । माओवादीमा जनमुक्ति सेना भएर आठ वर्षेसम्म काम गरे । तत्कालीन समयमा दलितमाथि हुने विभेद अन्त्य गर्नका लागि सक्रिय भए । दशवर्षे जनयुद्धपछि शान्ति स्थापनासँगै उनि जनमुक्ति सेनाबाट अवकास प्राप्त गरे ।
समाजमा हुने छुवाछुत प्रथाको अन्त्यका लागि राजनीतिमा होमिएका अर्जुनले शान्ति स्थापनासँगै ठूलो परिवर्तनको आशा बोकेका थिए । उनी त्यसपछि पनि विभिन्न समयमा राजनैतिक आन्दोलनमा होमिन्छन् ।
अर्थात् उनलाई राजनैतिक नेतृत्वले चुनावका समयमा प्रयोग गर्छ तर उनले परिवर्तनको अनुभूति अझै पनि गर्न सकेका छैनन् । ‘दलित समुदायको अधिकार रक्षाका निम्ति कतिसम्म, कहिलेसम्म राजनैतिक आन्दोलनमा सहभागी हुने हो थाहा छैन्’ उनले भने- ‘हामीलाई नेतृत्वले जहिले पनि प्रयोग गर्ने तर हाम्रो जीवनस्तर कहिले माथि उठ्ने भएन् ।’
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी अर्जुनले दलित समुदायकै साथ र सहयोगले राजनैतिक आन्दोलन सफल भएपनि नेतृत्वले कुर्सीमा पुगेपछि मुद्दालाई चट्क्कै बिर्सने गरेको बताए । ‘सोझा-साझा दलितलाई प्रयोग गरेर टाठाबाठाले कमाई खाने भाँडो बनाएका छन्’ उनले भने- ‘दलित समुदायका अधिकारको रक्षाका लागि नेतृत्वले कुनै चासो दिने गरेको छैन् ।’ दंगीशरण गाउँपालिका वडा नम्बर ५ का यमबहादुर विश्वकर्मासँग पनि दलित भएकै कारण तितो अनुभव छ ।
उनले दलित भएकै कारण बास नपाएको तुलसीपुरमा पढ्न आएको छोरीलाई घरबेटीले कोठाबाट निकालेको गुनासो गरे । ‘परिवर्तन भनेको खै ? दलितमाथि थिचोमिचो अझै कहिलेसम्म हुने हो ? ’ उनले प्रश्न गरे । उनले अझै पनि कतिपय ठाउँमा जीउ जोगाउन गैरदलित भनेर ढाट्नुपर्ने अवस्था रहेको बताए ।
‘दलित हुँ भनेर भन्दा दुःख धेरै पाएका छौँ’ उनले भने- ‘वास्तविकता बताउँदा दुःख पाएपछि कतिपय ठाउँमा बाध्यात्मक स्थितिमा थर अर्कै बताउने गरिएको छ ।’ दलितका अधिकार संविधानमा धेरै समेटिए पनि व्यवहारिक तहमा पितृ सत्तात्मक सोच कामयै हुँदा दलितमाथि छुवाछुत र भेदभाव कायमै रहेको उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का महिला सदस्य कुमारी विकले कतिपय अवस्थामा सोचको अभावमा दलितहरु आफै पछि परेको बताइन् । दलित समुदायका व्यक्तिले गैर दलितसँग प्रेम गर्नैपर्ने, दलितले मागेर खाने जात हो भन्ने मानसिकता हुँदा पनि दलित समुदायमाथि थिचोमिचो हुने गरेको उनको भनाइ छ । ‘दलित युवाले दलित समुदायकै केटी विहे गरे हुन्न ?’ उनले भनिन्- ‘दलित समुदायले गैर दलितसँग प्रेम गर्दा विभिन्न घटना हुने गरेका छन् ।’
अन्य समुदायका व्यक्तिले गरेको राम्रो कामको सिको गर्न सके दलित समुदायको जीवनस्तर उठ्न समय नलाग्ने उनको धारणा छ ।’ दलित समुदायको अधिकार सुनिश्चितताका लागि बुधबार तुलसीपुरमा भेला भएका दलित अगुवा तथा दलित अधिकारकर्मीले दलित समुदायमाथि हुने गरेका समस्यामात्रै भन्दा पनि समाधानको उपाय खोज्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनैतिक नेतृत्वले मात्रै दलित अधिकार स्थापित गर्न सक्ने बताएका छन् ।
दलित अधिकारकर्मी खेमराज विश्वकर्माले राजनैतिक दलको भातृसंस्थाको रुपमा रहेका दलितसँग संगठनले स्पष्ट योजना दिन नसक्दा दलित अधिकार अझै पनि पछाडि रहेको बताए । ‘भातृ संघ संगठनले चुनावको बेलामा मात्रै प्रयोग गर्ने गरेको तर दलित समुदायको जीवनस्तर उठाउन खासै पहल नगरेको देखिएको छ’ उनले भने-‘कम्तीमा पनि उनीहरुले माउ पार्टीहरुलाई दलित समुदायको जीवनस्तर उठाउन योजना बनाएर दिनुपर्छ ।’
त्यस अवसरमा दलित अधिकारकर्मी निर्मल नेपालीले दलित समुदायमाथि भेदभाव गर्नेलाई पालिकाबाट दिने सेवा सुविधाबाट बन्चित गर्ने नीति स्थानीय सरकारले ल्याउनुपर्ने बताए । ‘अहिलेको शताब्दीमा दलित समुदायमाथि भेदभाव छ भन्ने कुरा दुखद् हो’ उनले भने- ‘अब पनि छुवाछुतको प्रथा कायम राख्नेलाई पालिका सरकारले सेवा सुविधाबाट बन्चित गर्नुपर्छ ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले दलित अधिकारको पक्षमा संविधानमा राम्रो व्यवस्था गरेपनि व्यवहारिक तहमा छुवाछुत र भेदभावको अवस्था कायमै रहेकोले अब बुझाउन आवश्यक रहेको बताइन् । यसैगरी तुलसीपुर-६ का वडा सदस्य यमुना परियार, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, खेमराज विश्वकर्मालगायतले शिक्षा, स्वास्थ्य र रोजगारमा दलित समुदायलाई जोड्न सके समाज रुपान्तरण हुन सक्ने बताए ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्कर्माले राजनैतिक परिवर्तनसँगै दलित समुदायका धेरै अधिकार स्थापित भएको दाबी गरेका छन् । उनले आयोगले योग्यता र क्षमता अनुसारका दलित समुदायका व्यक्ति राज्यका सबै निकायमा पहुँचमा लैजान पहल गरिरहेको बताए । ‘चार हजार वर्ष पुरानो दलित समुदायको उल्टो बाटोलाई नेपालको संविधान २०७२ ले स्थापित गरेको छ’ उनले भने- ‘संविधानमा भएका कुरा व्यवहारिक तहमा कार्यान्वयनमा लैजानका लागि आयोगले काम गरिरहेको छ ।’
उनले संविधानमा भएका सबै कुरा व्यवहारिक तहमा लागू हुन समय लाग्ने बताए । ‘धेरै दलित समुदाय शिक्षाको पहुँचमा छैन्, प्रतिनिधित्व विस्तारै बढ्न थालेको छ’ उनले भने- ‘अब क्रमश अधिकार स्थापित हुने कुरामा म विश्वस्त पार्न चाहन्छु ।’ दलित कल्याण संघ काठमाडौँको आयोजनामा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष सन्तोष चनाराको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा कार्यशाला गोष्ठी भएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मोहनलाल नेपालीले सदियौदेखि राज्यको एउटा वर्गमाथि अर्को वर्गले शोषण गर्ने र शासन चलाउने यन्त्रको रुपमा विकास भएको उल्लेख गरेका थिए ।