दाङ, २५ असार ।
देव विकास बैंकको १८ करोड हिनामिना मुद्दाको अन्तिम फैसला आएको छ । देव विकास बैंक नारायणपुर शाखा दाङमा १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीमध्ये ३३ जनालाई जरिवाना र कैद सजाय तोकिएको हो ।
जसमध्ये ३३ जनालाई एकैसाथ जरिवाना र कैदको फैसला भएको उच्च अदालतले जनाएको छ ।
अदालतका मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारीसहित केही सञ्चालक समितिका सदस्यलाई कसुरअनुसार जरिवाना र कैद सजायको फैसला सुनाएको हो ।
तीन वर्ष पहिले घोराही उपमहानगरपालिका-१० नारायणपुर बजारमा शाखा कार्यालय रहेको बैंकमा हिनामिना भएको सार्वजनिक भएको थियो र त्यसपछि बैंकको केन्द्रीय समितिले बैंकका कर्मचारी र तत्कालिन अवस्थाका वेष्टर्न डेभलपमेन्ट बैकका सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको थियो ।
सोहि मुद्दाको झण्डै तीन वर्षपछि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरले ३३ जना प्रतिवादीलाई दोषी ठहर गर्दै कसुर अनुसारको कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला सुनाएको हो ।
उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यामबहादुर बुढाले चार दिनसम्मको निरन्तर बहसबाट बिहीबार ९ बजे राति मात्रै फैसला भएको बताउनुभयो । कागजमा अपराध देखिएका व्यक्तिहरू सजायको भागिदार भएको बताउनुभयो ।
सञ्चालन समिति र प्रमुख कार्यकारी अधिकृतले सफाइ पाएको अवस्था छ भने शाखा प्रबन्धक र अन्य खातावालहरू कारवाहीमा परेको बताउनुभयो । शाखा प्रबन्धकले र बैंकसँग जोडिएका मुख्य व्यक्तिले ३६ वटा नक्कली कर्जा खाता खोली बदमासी गरेका पाइएको छ ।
प्रतिवादीमध्ये समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए ।
ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रूपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको देखिएको छ । त्यो पैसा उनले बसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए । उनीहरूले उक्त रकम आफ्नैजस्तो गरी झिकेर प्रयोग गरेका थिए ।
बैंकमा फर्जी खाता खोली बैंकको रूपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसूरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालतले गरेको छ ।
बुढाथोकीले अभियोग दावी अनुसार बैंकिङ (कसूर तथा सजाय) ऐन, बमोजिमको कसूर गरेको देखिएकोले निज प्रतिवादी समिर बुढाथोकीलाई अभियोग दावी बमोजिमको कसूर कायम हुने ठहर्छ फैसलामा भनिएको छ ।
अभियोग दावीबमोजिम कसूर कायम हुने भएको र उक्त कसूरमा प्रतिवादीलाई तीन वर्षभन्दा बढी कैदको सजाय हुने भएकोले निजको हकमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनबमोजिम सजाय निर्धारणको लागि पेश हुने ठहर्छ भनिएको छ ।
सजायका लागि असार २८ गतेको लागि पेशी तोकिएको छ । उच्च अदालतल तुलसीपुरले बैंकिङ कसुरसम्बन्धी मुद्दा हेर्ने अधिकार पाएपछि पहिलो मुद्दाको रूपमा बैंकको १८ करोड हिनामिनाको मुद्दा दर्ता भएको थियो । पहिलो मुद्दालाई तीन वर्ष लगाएर बैंकले किनारा लगाएको खबर प्रदेश टुडे दैनिका खबर छ ।
कसलाई कति जरिवाना तथा कैद ?
१. बसन्तबहादुर बस्नेत– २ करोड १५ लाख ३६ हजार २५० रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ।
२. मनोज केसी– १ करोड ४ लाख ११ हजार ७४६ रूपैयाँ जरिवाना २ वर्ष कैद ।
३. रोशन बस्नेत– ७१ लाख ८२ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ।
४. झगबहादुर डिसी– २० लाख ३१ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ।
५. विनोद खड्का– ५९ लाख ७५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
६. शान्ति केसी– २ लाख रूपैयाँ जरिवाना र १० दिन कैद ।
७. मुकेशकुमार गुप्ता —४ लाख ५० हजार २५० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
८. सन्जय बगाले– १८ लाख ६२ हजार ५०० रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
९. विनोदकुमार वली– १५ लाख ३० हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
१०. विजया शर्मा– १० लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
११. विजयकुमार गुप्ता– ७ लाख ८२ हजार ५०० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१२. जीवराज रावत– ९ लाख रूपैयाँ जरिवाना र २० दिन कैद ।
१३. अर्जुन बस्नेत– १३ लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
१४. नोमबहादुर बुढाथोकी– ७ लाख ५० हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१५. वीरेन्द्रकुमार गुप्ता– ९ लाख ८७ हजार ५०० रूपैयाँ जरिवाना र २० दिन कैद ।
१६. प्रेमबहादुर बुढाथोकी– ७ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१७. किरण रावत– ६ लाख ९३ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१८. नोखमतीकुमारी बस्नेत– ६ लाख ३२ हजार ५०० रूपैयाँ जरिवाना र १५ दिन कैद ।
१९. डेमकला खड्का– १४ लाख २५ हजार रूपैयाँ जरिवाना र १ वर्ष कैद ।
२०. नरबहादुर कार्की– ५ लाख ९५ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२१. धनेश्वर आचार्य– ५ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद सजाय ।
२२. द्रोणबहादुर केसी– ५ लाख रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२३. रामबहादुर घर्ती– ७ लाख ७५ हजार रूपैयाँ जरिवाना र १५ दिन कैद ।
२४. केशवी बुढाथोकी– ५ लाख रूपैयाँ जरिवाना र १२ दिन कैद ।
२५. बसन्त बुढाथोकी– ३५ हजार ७७२ रूपैयाँ जरिवाना र ४ दिन कैद ।
२६. शरद पोखरेल– ३ लाख रूपैयाँ जरिवाना र १२ दिन कैद ।
२७. मतकुमार पौडेल– २ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
२८. नरसिंह विश्वकर्मा–२ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
२९. शालिकराम केसी– २ लाख ५० हजार रूपैयाँ जरिवाना र १० दिन कैद ।
३०. खुवीराम न्यौपाने– २ लाख रूपैयाँ जरिवाना र १० दिन कैद ।
३१. रविनकुमार डाँगी– १ लाख ७५ हजार ५०० रूपैयाँ जरिवाना र १० दिन कैद ।
३२. हेमन्त पुन मगर– ५० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद ।
३३. बालिका महरा– २५ हजार रूपैयाँ जरिवाना र ४ दिन कैद ।